
पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद् गण्डकीले दशौं राष्ट्रिय खेलकुदको तयारी संगै प्रदेश खेल संघहरु संग वार्षिक समिक्षा गर्ने भएको छ ।
परिषदले सबै प्रदेश खेल संघहरु भोली (शुक्रबार) समिक्षा बैठकको तयारी गरिएको एक सूचना प्रकाशित गरी जानकारी दिएको हो । परिषदको सूचना अनुसार बैठकमा आ.व २०८०/८१ को वार्षिक प्रगति समीक्षा गर्ने संगै खेल संघहरुको सम्पूर्ण जानकारीसहितका्े प्रतिवेदनसहित उपस्थित हुन आह्वान गरिएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले खेल संघहरुलाई दशौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्ने संगै खेल संघहरुका गतिविधिहरु तथा आगामी कार्ययोजनाहरु समेत प्रस्तुतीसहितको प्रतिवेदनका लागि बैठक आह्वान गरिएको पोखरा स्पोर्ट्सलाई जानकारी दिए ।
यसै बीच, हालै राजधानीमा सम्पन्न केही खेल संघका केन्द्रिय साधारण सभा तथा अधिवेशनमा गण्डकी प्रदेशका विभिन्न खेल संघलाई सहभागी नै नगराई केन्द्रिय साधारण सभा/अधिबेशन गरेका केन्द्रिय संघ र तिनका पदाधिकारी/सदस्यहरुलाई गण्डकी प्रदेशमा मान्यता/स्वीकार गर्ने/नगर्ने सम्बन्धमा समेत बैठकमा व्यापक छलफल हुने परिषदले जनाएको छ ।
“प्रदेश खेलकुद परिषद गण्डकीमा जती पनि खेल संघहरु छन् ती सबै परिषदमा ऐन अनुसार गठन भएर आवद्धता रहेका छन्” सदस्य सचिब शर्माले भने, “अहिले प्रदेशमा आधिकारिक रुपमा दर्ता भएका खेल संघहरुलाई जानकारी नै नदिई केन्द्रिय सभा र अधिवेशन गरिएको छ । यो हाम्रो प्रदेशको मात्रै नभई नेपाली खेलकुदका लागि ठूलो चिन्ताको विषय हो । यो विषयमा परिषद गम्भिर छ । यसमा व्यापक छलफल हुनेछ । छलफल पछि जे निर्णय हुन्छ हामी त्यही अनुरुप अघि बढ्छौं ।”
परिषदले खेल संघहरुलाई अझै बढि जिम्मेवार बनाउँदै अघि बढाउने उद्धेश्य अनुरुप खेल संघहरुको बीचको समन्वयका लागि प्रदेश खेल संघ समन्वय समिति गठन संगै रेफ्रि तथा टेक्निकल कमिटि गठन गर्ने समेत जनाएको छ ।
यस्तै गरी, गण्डकी प्रदेश भित्र प्रदेश खेलकुद परिषद,जिल्ला खेलकुद बिकास समितिहरु, प्रदेश खेल संघहरुले आयोजना गर्ने जुनसुकै खेलकुद प्रतियोगितामा व्यापार प्रबर्द्धन गर्न, उद्योग ब्यवसाय लगायतको बिज्ञापन गर्न/गराउन पाउने ब्यवस्थाको लागि बढाबढबाट ठेक्का प्रक्रिया अगाडि बढाउने विषयमा समेत छलफल हुने सदस्य सचिब शर्माले बताए ।
