
पोखरा स्पोर्टस । पोखरेली यूवा टेनिस खेलाडी दर्शिल श्रेष्ठ ‘रोल्यान्ड गारोस जुनियर सिरिज’मा सहभागि हुन चिन जाने भएका छन् ।
एसियाली टेनिस फेडेरेशनको आयोजना अगस्त १८ तारिखबाट चीनको हाइनान प्रान्तमा सुरू हुने उक्त प्रतियोगितामा साउथ एसियाबाट दर्शिल प्रतियोगिताका लागि छनौटमा परेका हुन् ।
गत वर्ष समेत छनौट हुँदै सहभागि रहेका दर्शिलको खेल कुशलताका कारण दोस्रो पटक छनौटमा पर्न सफल भएका छन् ।
फ्रेन्च ओपन जुनियर टेनिसका लागि पहिलो चरणको छनौट रहेको प्रतियोगितामा साउथ एसिया र साउथ इष्ट एसियाका विभिन्न देशका २४ जना खेलाडीहरुले सिरिजमा सहभागिता जनाउने छन् । एसिया भित्रका विभिन्न जोनको सिरिजबाट छनौट हुने खेलाडीहरुको अन्तिम छनौट खेल भने जापानमा हुनेछ । उक्त छनौट खेल एसियालीस्तरको हुनेछ ।
अगस्त २५ तारिख सम्म सञ्चालन हुने प्रतियोगितामा सहभागिता हुन जान लागेका दर्शिलले नेपाली झण्डा अन्तर्राष्ट्रिय एरिनामा फहराउने गरी प्रतिस्पर्धा गर्ने बताए । उनले भने–“गत वर्ष समेत मेरो सहभागिता थियो । मैले राम्रो अनुभव संगालेको छु । मेरो सम्पूर्ण ध्यान अब चीनमा उत्कृष्ट हासिल गर्नेतर्फ हुनेछ ।”

