
पोखरा स्पोर्ट्स । एशियाकै पहिलो महिला भलिबल फ्रेन्चाइज लिग वात्सल्य एभरेस्ट महिला भलिबल लिग इडब्लुभिएलले आफ्नो दोस्रो संस्करणका लागि टिकटकलाई आधिकारिक एन्टरटेनमेन्ट पार्टनर घोषणा गरेको छ ।
यो घोषणा संगै भदौ २० देखि २८ (सेप्टेम्बर ५–१३) सम्म सञ्चालन हुने यस लिगले नेपाली महिला खेलकुदको कथालाई सामाजिक सञ्जालमा अग्रणी रहेको टिकटकमार्फत अन्तर्राष्ट्रिय जगतमा फैलाउने ठूलो अवसर प्राप्त भएको आयोजकले जनाएको छ ।
यो सहकार्यले इडब्लुभिएललाई ग्लोबल डिजिटल प्लेटफर्ममार्फत अन्तर्राष्ट्रियकरण, महिला सशक्तिकरण र राष्ट्रिय पहिचान प्रवर्द्धन गर्न मद्दत गर्ने आयोजकले जनाउँदै विश्व खेलकुदमा नयाँ आयाम थपिने विश्वास समेत व्यक्त गरिएको लिगकी सीईओ स्नेभी चापागाईंले बताएकी छन् । उनले भनेकी छन्–“यो सहकार्यले टिकटकसँग नेपाली महिला खेलको कथा विश्वभर पुर्याउने हाम्रो लक्ष्यलाई अझ बल दिने छ ।”
टिकटक साउथ एसियाका कन्टेन्ट अपरेसन लिड उमेस नविदले समेत पहिलो पटक प्रत्यक्ष रुपमा नेपाली खेलकुद संग जोडिन पाएको खुसी भएको बथाउँदै भनेका छन–‘इडब्लुभिएल सँगको सहकार्य टिकटकका लागि ऐतिहासिक अवसर हो । महिला सशक्तिकरण, राष्ट्रिय खेलको उत्सव र अन्तर्राष्ट्रिय पहिचान निर्माणमा हामी इडब्लुभिएल सँग साथ दिन पाउँदा गर्व महसुस गरिरहेका छौं ।’
सहकार्य अन्तरगत खेलाडी र टिमको पर्दा पछाडिको भिडियो सामग्री, ह्यासट्यागमार्फत च्यालेन्ज, भलिबल स्टार र कन्टेन्ट क्रिएटरबीच सहकार्य, हाइलाइट भिडियो, लाइभ अपडेट, स्टेडियममा दर्शकका लागि छुट्टै व्यवस्था हुनेछन् ।
इडब्लुभिएल लिग १ सय भन्दा बढी खेलाडी, प्रशिक्षक, मिडिया र सेलिब्रेटीहरूको सहभागीता सहित एक भव्य अभियानको रूपमा अघि बढिरहेको छ ।
नेपालमा मात्र नभई विदेशमा पनि यसको फ्यानबेस बढ्दो रहेको आयोजकले जनाएको छ ।
इडब्लुभिएल बारे
वात्सल्य एभरेस्ट महिला भलिबल लिग नेपाल भलिबल संघबाट अनुमति प्राप्त, इन्फिनिटी ड्रिम्स प्रा.लीद्वारा आयोजित फ्रेन्चाइज लिग हो । यो लिगले प्रतिस्पर्धा, सशक्तीकरण र मनोरञ्जनलाई जोड दिँदै महिला नेतृत्व र राष्ट्रिय खेलको विकासमा केन्द्रित रहेको छ ।
टिकटक बारे
टिकटक विश्वकै अग्रणी छोटो मोबाइल भिडियो प्लेटफर्म हो, जसको उद्देश्य रचनात्मकता उत्प्रेरित गर्नु र खुसी बाँड्नु हो । यसका कार्यालयहरूलस एञ्जलस, न्यूयोर्क, लण्डन, पेरिस, बर्लिन, दुबई, सिंगापुर, जाकार्ता, जोहानेसबर्ग, सिओल, टोकियो लगायतका शहरहरूमा रहेका छन् ।
एभरेस्ट महिला भलिबल लिग इडब्लुभिएल आगामी भदौ २० देखि २८ गते सम्म पोखरामा हुने भएको छ ।
