जापानमा नेपाली केन्पोकाइ टिमलाई भव्य स्वागत

पोखरा स्पोर्ट्स । जापानको हमामात्सु शहरमा यही अगस्ट ८ देखि १० तारिखसम्म आयोजना हुने वर्ल्ड केन्पोकाई टुर्नामेन्ट २०२५ मा सहभागी हुन पुगेका नेपाली राष्ट्रिय टोलीलाई एभरेष्ट फुजी सोसाइटी जापानले विशेष स्वागत तथा सम्मान गरेको छ।

नेपाली टिममा खेलाडी मेनुका अधिकारी र बामदेव सुवेदी, प्रशिक्षक नविन आचार्य, तथा अफिसियल प्रतिनिधि नारज बहादुर खड्का (हरि) र जुना लमिछाने सहभागी छन् ।

स्वागत समारोहको अध्यक्षता सोसाइटीका अध्यक्ष बिशाल शर्माले स्वागत गर्दै भने, “नेपालका छोरी(छोराहरू अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न जापान आइपुग्नु गौरवको कुरा हो । हाम्रो समाजले सदैव यस्ता प्रतिभाहरूको साथमा रहनेछ ।”

प्रशिक्षक नविन आचार्यले नेपाली समाजबाट पाएको हार्दिक स्वागतप्रति आभार व्यक्त गर्दै भने, “नेपालको नाम उच्च राख्ने हाम्रो उद्देश्यमा यहाँको समाजको साथ र हौसला अमूल्य योगदान बन्न गएको छ ।”

कार्यक्रममा खेलाडी मेनुका अधिकारी र बामदेव सुवेदीलाई खादा, माला, प्रमाणपत्र र शुभकामनासहित सम्मान गरिएको थियो । साथै अफिसियल टिम सदस्यहरूलाई पनि सम्मान प्रदान गरिएको थियो ।

समारोहमा जापानस्थित नेपाली समुदायका अगुवा, समाजका पदाधिकारी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो । कार्यक्रमको समन्वयन भूपेन्द्र कुमार गोलेले गरेका थिए ।

नेपाली टोलीले जापानको माटोमा नेपाली झण्डा फहराउँदै गौरवपूर्ण प्रदर्शन गर्ने लक्ष्य लिएको छ । टुर्नामेन्ट अन्तर्गत सेमीनार कार्यक्रम भोलीबाट सुरू हुने टिम अफिसियल खड्काले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close