पोखराकी नारायणीसहित नेपाली १२ सदस्यीय टोली भारत प्रस्थान

पोखरा स्पोर्टस । पोखराकी उदीयमान धाविका नारायणी भण्डारीसहित नेपाली १२ सदस्यिय टोली भारतको भुवनेश्वरमा आगामी अगस्ट ८ देखि १० सम्म हुने वर्ल्ड एथलेटिक्स ब्रोन्ज लेभल कन्टिनेन्टल टुरमा सहभागी हुन बुधबार प्रस्थान गरेका छन् ।

भारत प्रस्थान गर्नु अघि राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले नेपाली टोलीलाई विदाइ गरेका थिए । यस अघि नारायणीलाई मंगलबार कास्की जिल्ला एथलेटिक्स संघले एक कार्यक्रमका बीच बिदाइ गरेको थियो ।

नारायणीले हालै पोखरामा आयोजित ‘पोखरा एथलेटिक्स मिट राष्ट्रिय प्रतियोगिता’मा १५ सय मिटर दौडमा स्वर्ण पदक जितेकी थिइन् । उक्त प्रतियोगिता कास्की जिल्ला एथलेटिक्स संघले आयोजना गरेको थियो । साथै, उनी १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको ८ सय मिटर दौडमा कीर्तिमान बनाउँदै दुई मिनेट १७ सेकेण्डमा दूरी पूरा गर्ने धाविका समेत हुन् ।

प्रतियोगिताको पुरुषमा आदेशकुमार यादव, सोमबहादुर कुमाल, मुकेशबहादुर पाल, सलिम देवान, डिल्ली खत्री, रोहित चौधरी र प्रकाश दनुवारले प्रतिस्पर्धा गर्ने छन् । महिलामा नारायणीसहित कलेसी चौधरी, सिमाकुमारी चौधरी, चन्द्रकला लाम्गाडे र पूर्णलक्ष्मी न्यौपानेले खेल्ने छन् । अफिसियलमा शिवलाल आचार्य र अनिलरुद्र कुमार चौधरी छन् ।

भारत प्रस्थान गर्न लागेका सबै खेलाडी ‘पोखरा एथलेटिक्स मिट राष्ट्रिय प्रतियोगिता’लाई आधार मान्दै छनौट गरिएको नेपाल एथलेटिक्स संघका उपाध्यक्ष गज बहादुर गुरूङले पोखरा स्पोर्ट्सलाई जानकारी दिए । पोखरा एथलेटिक्स मिट गत चैत्र १९ र २० गते पोखरामा आयोजना गरिएको थियो ।

भुवनेश्वरमा आयोजना हुने अन्तर्राष्ट्रियस्तरको उक्त प्रतियोगितामा नारायणीले ८ सय र १५ सय मिटर दौड इभेन्टमा प्रतिस्पर्धा गर्ने कास्की एथलेटिक्सका सचिब एवं प्रशिक्षक सिद्धान्त अधिकारीले बताए । नेपालको एथलेटिक्स क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै गरेकी नारायणीको यो सहभागिता नेपाली खेलकुदका लागि उत्साहजनक रहने सचिब अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close