
पोखरा स्पोर्ट्स । विश्व शान्ति तथा पर्यटन दिवसको अवसरमा असोज ४ गते पोखरामा हुने दोस्रो पर्वतीय दौड प्रतियोगितामा यस वर्ष पुरस्कार राशि दोब्बर बनाइएको छ । आयोजकका अनुसार, इभेन्टको संरचना पुनःव्यवस्थित गर्दै नगद पुरस्कारमा वृद्धि गरिएको हो ।
गत वर्ष ६ जना धावकलाई ६८ हजार रुपैयाँ पुरस्कार दिइएकोमा, यसपटक पाँच फरक इभेन्टमा १८ धावकलाई कुल २ लाख ६ हजार रुपैयाँसहित पुरस्कृत गरिने भएको पोखरा क्लिकका दिननाथ बरालले जानकारी दिएका छन् । खुलातर्फ पहिलो हुनेले ५० हजार, दोस्रोले ३० हजार, तेस्रोलाई १५ हजार, चौथो, पाँचौं र छैटौंदेखि १०औँ स्थानसम्म जनही एक हजारसहित प्रमाणपत्र र मेडल दिइनेछ ।
वडास्तरीय खुला, महिला र यू–१६ इभेन्टका विजेतालाई १५ हजार र उपविजेतालाई ७ हजार रुपैयाँ दिइनेछ । यसबाहेक ४० वर्षमाथिका भेट्रान र विदेशी धावकलाई प्रोत्साहन स्वरूप जनही १५ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।
८ किमि दूरीको दौड विश्व शान्ति स्तुपाबाट सुरु भई पुम्दीकोट हुँदै कालाबाङ बुद्धपार्कमा समाप्त हुनेछ । प्रतियोगिताको अनुमानित लागत १६ लाख ९१ हजार रुपैयाँ रहेको छ ।
