पूर्व भलिवल प्रशिक्षक जीवन प्रसाद महतोलाई कास्की जिल्ला भलिवल संघको सहयोग

पोखरा स्पोर्टस । कास्की जिल्ला भलिबल संघले पूर्व भलिबल खेलाडी तथा प्रशिक्षक जीवनप्रसाद महतोलाई आर्थिक सहयोग गरेको छ ।

कास्की जिल्ला भलिवल संघले प्रशिक्षक जिवनलाई उनकै निवास चितवन भरतपुर महानगरनगर पालिका वडा नं २ क्षेत्रपुर पुगेर सहयोग गरेको हो । संघले आफ्नो तर्फबाट नगद ५० हजार र अन्य व्यक्तिहरुको सहयोग वापत प्राप्त १२ हजार गरी ६२ हजार सहयोग गरेको छ । २०६६ साल अर्थात विगत १२ वर्ष अघि चितवनमा मोटरसाइकल दुर्घटनाबाट परेका उनी यतिबेला ह्विलचियरको सहारामा छन । उनलाई उक्त रकम राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य राजेश कुमार गुरुङ, कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुली लगायतले महतोसहित धर्मपत्नी ज्योती मिलन महतोलाई उक्त रकम हस्तान्तरण गरे ।

प्रशिक्षक जिवनलाई जिल्ला भलिवल संघका सदस्य संजीव जिसीले ५ हजार, पूर्व राष्ट्रिय भलिबल खेलाडी मञ्जु गुरुङले ५ हजार र भलिबल प्रशिक्षक दिनेश चौधरीले २ हजार सहयोग गरेका छन् ।

सो सहयोग रकम हस्तान्तरण गर्दै राखेप सदस्य राजेश कुमार गुरुङले जीवनप्रसाद महतो जस्ता खेलकुदको विकासमा लागेका व्यक्तिहरुलाई राज्यले सम्मान गर्नुपर्ने बताए । उनले भने–“जिवन सर जस्ता व्यक्तिलाई राज्यले पदक दिएर सम्मान गर्नुपर्छ खेलकुदको विकास गर्ने राष्ट्रलाई राम्रो गर्नेलाई पदक दिँदा बल्ल पदककै मर्यादा पनि बढ्थ्यो तर त्यता तिर सरकारको ध्यान पुग्न सकेन ।” प्रशिक्षक जिवनको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उनको उचित मुल्याङ्कन आवश्यक रहेको बताउँदै राखेप सदस्य गुरुङले उनी जस्तै लगनशिल प्रशिक्षकको अरु प्रदेशमा समेत खोजी गरिने बताए ।

यस्तै कास्की जिल्ला भलिवल संघका अध्यक्ष भिम पराजुलीले प्रशिक्षक जिवनले गण्डकी प्रदेशका लागि मात्रै नभएर सिङ्गो मुलुकको भलिवल खेलको गौरव बढाउने काम गरेको स्मरण गर्दै भने–“जीवन सर तपाई यस्तो अवस्थामा रहे पनि तपाईले विगतमा उत्पादन गरेका कृतिहरु तपाईसामु छन् । त्यो कुराहरु कास्की जिल्ला भलिबल संघले कहिल्यै बिर्सने छैन । तपाईलाई कास्की भलिवल संघले सधैं सम्मान गर्नेछ ।” लामो समय पछि उनलाई देखेर भावुक बनेका अध्यक्ष पराजुलीले प्रशिक्षक जिवनलाई कुनै एक कार्यक्रममा बोलाएर पोखरामा सम्मान गर्ने बताए ।

यसैगरी जीवनप्रसाद महतोका धर्मपत्नी ज्योतिमिलन महतोले भावुक हुँदै सहयोगका लागि आभार व्यक्त गरिन् । उनले पोखराका साथीभाई हरुसंग लामो समय पछिको भेटघाट हुँदा खुसी लागेको बताउँदै भनिन–“ जीवनसरलाई यति वर्षपछि पनि सम्झेर घरमा नै आएर आर्थिक सहयोग गरिदिनु भएकोमा हार्दिक आभार व्यक्त गर्दछु ।”

प्रशिक्षक जिवनले पोखराको ज्ञानुबाबा एकेडेमीबाट महिला भलिवलको प्रशिक्षण सुरुवात गरेका थिए । उनले फिस्टेल ऐकडेमी टप्स मावीमा लामो समयसम्म भलिबल प्रशिक्षण गराएका थिए । नेपाली महिला टोलीबाट राष्ट्रका लागि खेलिसकेका परिक्षा गुरुङ, सिपोरा गुरुङ र मञ्जु गुरुङ लगायत आधा दर्जन भन्दा वढी प्रतिभावान खेलाडीहरु प्रशिक्षक महतोले उत्पादन गरेका थिए ।

यस अघि प्रशिक्षक जिवनलाई मदन भण्डारी स्पोर्टस् एकेडेमीको तर्फबाट राष्ट्रिय खेलकुद परिषद् सदस्य राजेश गुरुङले ७७ हजार ७ सय रुपैयाँ सहयोग हस्तान्तरण गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close