
पोखरा स्पोर्टस । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणमा भएको प्रगतिको प्रशंसा नभएको गुनासो गरेका छन् ।
बुधबार प्रतिनिधि सभामा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले किर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको विषय भएको काममा प्रशंसा गर्नुको साटो आलोचना गरेकोप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
उनले भने- ‘रंगशाला त बन्दै छ त ! तयार हुने स्थितिमा पुगिसक्यो। यसमा खुसी हुनु छैन, दुई दिन किन नाघ्यो भन्छन् । दुई दिन लाग्न सक्छ । मैले तीव्रताका लागि, छिटो होस् भन्नका लागि ३०० दिन भनेर तोकेको थिएँ । तर हाम्रा प्रक्रियाका जटिलता, खरिद प्रक्रियाका जटिलता, भूमिका स्वामित्वका जटिलता आदि कारणले काम प्रारम्भ गर्नै पुससम्म लाग्यो ।’
प्रधानमन्त्री ओलीले काम सुरु गर्नै १५० दिन लागेको र वर्षा लगायतका कठिनाइले पनि अहिले उल्लेख्य काम भएको बताए । उनले भने- ‘काम गरेकोमा जस दिन पनि कहिले कहिले यसो सिक्दाखेरि हुन्थ्यो। मानसिकतालाई अलिकति सकारात्मक बनाए पनि हुन्थ्यो।’
यस अघि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधि सभाकै बैठकमा क्रिकेट रंगशाला ३०० दिनमा बनाउछु भनेर नबनाएको भन्दै आलोचना गरेका थिए ।
