
पोखरा स्पोर्ट्स । नेपाल क्रिकेट संघ (क्यान) र कुवेत क्रिकेटबीच पुरुष र महिला क्रिकेट टिमका हरेक बर्ष द्विपक्षीय क्रिकेट सिरिज आयोजना गर्ने सहमति भएको छ ।
क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार प्रत्येक वर्ष होम एण्ड अवेका आधारमा दुवै देशमा कम्तिमा तीनवटा टी-२० अन्तर्राष्ट्रिय र थप ५० ओभरका खेलहरू खेलिने गरि सहमति भएको छ ।
यो रणनीतिक सहकार्य अन्तर्राष्ट्रिय एक्सपोजर बढाउन र यस क्षेत्रमा एसोसिएट राष्ट्रहरू बीच प्रतिस्पर्धी क्रिकेटलाई बढावा दिन एक महत्वपूर्ण कदम भएको क्यानले जानाएको छ । यो सहमति २०२६ देखि लागु हुने छ ।
नेपालले हालै आइसीसी टी-२० विश्वकप २०२४ मा विश्व मञ्चमा आफ्नो प्रतिभा प्रदर्शन गरेको र कुवेतले यस वर्षको अन्त्यमा आइसीसी पुरुष टी-२० विश्वकप २०२६ एशिया क्षेत्रीय छनोटमा भाग लिन तयारी गरिरहेको अवस्थामा, यो सकारात्मक पहल भएको क्यानले उल्लेख गरेको छ ।
यसले उदीयमान खेलाडीहरूको लागि प्रतिस्पर्धात्मक वातावारण बनाउनुका साथै कुवेतमा बसोबास गर्ने जीवन्त र जोशिलो नेपाली समुदायसँग दुई राष्ट्रहरू बीचको सांस्कृतिक र क्रिकेट सम्बन्धलाई पनि बलियो बनाउने विश्वास क्यानले गरेको छ ।
नेपाल र कुवेत दुवै आईसीसी पुरुष टी-२० विश्वकप २०२६ एशिया क्षेत्रीय छनोटको लागि एउटै समूहमा रहेका छन् ।
