एभरेष्ट महिला भलिबल लिगको ऐतिहासिक अक्सन साउन २ मा, तयारी पूरा

पोखरा स्पोर्ट्स । नेपाली महिला भलिबलमा पहिलो फ्रेन्चाइज लिगको रूपमा चर्चित ‘वात्सल्य एभरेष्ट महिला भलिबल लिग’को दोस्रो संस्करणको अक्सन कार्यक्रम साउन २ गते काठमाडौंको सोल्टी होटलमा आयोजना हुँदैछ । दिउँसो ३ बजे सुरु हुने उक्त अक्सनका सबै तयारी पूरा भएको आयोजक इन्फिनिटी ड्रिम्स प्रालीले जनाएको छ।

गत वर्ष पहिलो संस्करण अत्यन्त सफल भएको एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण आगामी भदौमा आयोजना हुँदैछ। यसपटकको संस्करण अक्सन प्रणालीमार्फत खेलाडी छनोट गरिने प्रक्रियाले नेपाली महिला भलिबलमा ऐतिहासिक पाटो थप्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।

६ वटा फ्रेन्चाइज टोलीमा कर्णाली यशविन्स, ललितपुर क्विन्स, काठमाडौं स्पाइकर्स, मधेश युनाइटेड, पोखरा निन्जाज र लुम्बिनी लाभाले अक्सनमा सहभागी हुँदैछन् । अक्सनमा कुल ६८ खेलाडी समावेश गरिएको छ, जसलाई ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन वर्गमा विभाजन गरिएको छ ।

  • ए वर्गमा १३ खेलाडी छन्, जसमा प्रत्येक टोलीले १/१ जना मार्की खेलाडी छनोट गरिसकेपछि बाँकी ७ खेलाडी अक्सनमा रहन्छन् ।

  • बी वर्गमा ४३ खेलाडी, 

  • सी वर्गमा १८ खेलाडी छन् ।

प्रत्येक टोलीले अक्सनबाट ए वर्गबाट १, बी वर्गबाट ३ र सी वर्गबाट ३ जना खेलाडी अनिवार्य रूपमा छनोट गर्नुपर्नेछ ।

अक्सनमा अनसोल्ड रहेका ए वर्गका खेलाडीहरू बी वर्गमा र बी वर्गका अनसोल्ड खेलाडीहरू सी वर्गमा घटुवा गरिने व्यवस्था गरिएको छ ।

एभरेष्ट महिला भलिबल लिगकी प्रमुख कार्यकारी अधिकृत स्नेभी चापागाईंका अनुसार, “अक्सन प्रणालीले नेपाली महिला भलिबललाई अन्तर्राष्ट्रिय स्तरको अभ्यासमा पुर्‍याउनेछ । यसमार्फत खेलाडीको मूल्य निर्धारण र व्यावसायिकता स्थापित हुने विश्वास हामीले लिएका छौं ।”
#अबपालोमहिलाको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close