
पोखरा स्पोर्टस । मधेश युनाइटेडले आगामी एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) का लागि कोपिला उप्रेती लाई प्रशिक्षकको रुपमा नियुक्त गरेको छ ।
एक दशक भन्दा लामो समयसम्म उनी राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य रहेकी थिइन् । उनी १०औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा नेपालले कास्यपदक जित्ने टोलिकी सदस्य थिईन ।
एफआइभिबी भलीबल कोर्स लेभेल- १ र २ (FIVB volleyball coaches courses level 1 & 2) गरेकी उनले नेपाल पुलिस क्लबको लागि पनि प्रशिक्षण गरिसकेकी छन् ।
उप्रेतीले मधेश युनाईटेडसँग अनुबन्ध भएकोमा खुशी व्यक्त गर्दै आफु एकदमै उत्साहित रहेको बताएकी छिन् । यसबारे बोल्दै उप्रेती भन्छिन् , “मधेश युनाईटेडको प्रशिक्षकको रुपमा समावेश हुन पाउँदा म अत्यन्तै उत्साहित छु । टोलिले उत्कृष्ट प्रदर्शन गर्दै विजय हासिल गर्नेछ भन्ने कुरामा म विश्वस्त छु ।”
उप्रेतीको उपस्थितीले मधेश युनाइटेडले लिगमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास क्लबले लिएको छ ।
ईन्फिनिटी ड्रिम्सको आयोजनामा हुन लागेको दोस्रो एभरेष्ट वुमन्स भलिबल लिग आगामी भाद्र २० गते देखि भाद्र २८ गतेसम्म हुनेछ ।
