
पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीको रिक्त सदस्यमा प्रदेश सरकारले मनोनयन गरेको छ । करिव तीन महिना देखि रिक्त सदस्य पदमा सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा गण्डकी प्रदेश सरकारले मनोनयन गरेको हो ।
रिक्त सदस्य पदमा आधा सदस्य नेपाली काँग्रेस र आधा सदस्य नेकपा एमाले निकटबाट मनोनयन गरिएको हो । सदस्य पदमा मनोनयन भएका ९० प्रतिशत भन्दा बढि कास्कीका रहेका छन् । केहीको नागरिकता कास्की बाहिरको देखिए पनि उनीहरु सबै पोखरामा नै कार्यक्षेत्र बनाएर विभिन्न पेशा व्यवसायमा आवद्ध छन् ।
सामाजिक विकास यूवा तथा खेलकुद मन्त्री एवं परिषदका अध्यक्ष मन्त्री विन्दु कुमार थापाको उपस्थितीमा सदस्य सचिब श्रीधर शर्माले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।
प्रदेश खेलकुद विकास ऐन २०७७ र प्रदेश खेलकुद विकास नियमावली २०७८ अनुसार रिक्त सदस्य पदमा मनोनयन गरिएको परिषदका सदस्य सचिब श्रीधर शर्माले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
प्रदेश खेलकुद विकास ऐन २०७७ को परिच्छेद २ को उपाधारा ३ बमोजिम २५ सदस्यिय समिति चयन गरिएको छ ।
प्रदेश खेल संघबाट मनोनयन भएकाहरुमा
प्रदेश खेल संघबाट खेलकुद विकास ऐनको परिच्छेद २ को उपाधारा ३ को (ञ) बमोजिम अध्यक्षले मनोनयन गर्नेमा प्रदेश खेल संघबाट एक महिलासहित तीनजना मनोनयन गर्नुपर्ने प्रावधान रहेको छ ।
जसमा गण्डकी प्रदेश भलिबल संघबाट भिम पराजुली, गण्डकी प्रदेश फुटबल संघबाट अनिषा तुलाचन र हाप्कीडो प्रदेश संघबाट खिम पुन मगर मनोनयन भएका छन् ।
त्यस्तै ऐनको परिच्छेद २ को उपाधारा ३ बमोजिम विभिन्न दफा अनुसार मनोनयन भएका हरुमा
भेनिश थापा (पालुङटार–१, गोरखा)–प्याराग्लाइडिङ, पुरुष, कृष्ण बहादुर थापा (पोखरा–९, कास्की)–फुटबल, पुरुष, केशमाया गुरुङ (बन्दीपुर, तनहुँ)–भलिबल, महिला, इन्द्रा कुमारी मल्ल (पोखरा–५, कास्की)–एथलेटिक्स, महिला, रविन्द्र बहादुर प्रजु (पोखरा–३, कास्की)–क्रिकेट, पुरुष, संगिता सुवेदी (पोखरा–२३, कास्की)–मुआथाई, महिला, दिल बहादुर गुरुंङ (पोखरा–१६, कास्की)–टेबलटेनिस, पुरुष, कन्चन थापा कोइराला (पोखरा–५, कास्की)–तेक्वान्दो, महिला, सिता कुमारी गुरुङ (चापाकोट–७, स्याङ्जा)–हाप्किडो, महिला, सागर गुरुङ (धार्चे, गोरखा)–कराँते, पुरुष, विजय कुमार आले मगर (पोखरा–१७, कास्की)–कराँते, पुरुष र रेखमाया गुरुङ (चापाकोट–७, स्याङ्जा) – तेक्वान्दो, महिला रहेका छन् ।
दोस्रो कार्यकालका लागि नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष समेत रहेका टेबुल टेनिसका पूर्व राष्ट्रिय खेलाडी दिल बहादुर गुरूङ दोहोरिएका छन् । सदस्यमा मनोनयन भएका रविन्द्र बहादुर प्रजु भने यस अघि सो वडाको वडा अध्यक्ष समेत रहेका थिए ।
मनोनित सबैको कार्यकाल ४ वर्षको हुने ऐनमा उल्लेख छ ।
