
पोखरा स्पोर्ट्स । भारतका तीव्र गतिका बलर मोहम्मद सिराजलाई म्याच फिसको १५ प्रतिशत जरिवाना गरिएको छ । म्याच फिस बाहेक, उनलाई एक डिमेरिट पोइन्ट पनि दिइएको छ ।
लर्ड्समा जारी इङल्याण्डविरुद्धको तेस्रो टेस्टको चौथो दिन बेन डकेटलाई आउट गरेपछि सिराज आक्रामक रूपमा सेलिब्रेसन गरेकोप्रति आइसीसीले आचारसंहिताको लेभल-१ उल्लङ्घन गरेको भन्दै कारवाही गरेको हो ।
आइतबार, इङल्याण्डका बेन डकेटको विकेट पाउने बित्तिकै सिराज आक्रामक रूपमा उत्सव मनाएका थिए । उनी डकेट नजिक पुगेर उनको काँधमा ठोक्किएका थिए । त्यसपछि फिल्ड अम्पायर सिराजलाई सम्झाउन पुगेका थिए ।
सिराजले आफु विरुद्धको अपराध स्वीकार गरेका छन् । मैदानमा रहेका अम्पायरहरू पल रेफेल र शरफुद-उद-दौलाह इब्ने शाहिद, तेस्रो अम्पायर अहसान रजा र चौथो अम्पायर ग्राहम लोयडले सिराजको आरोप तय गरेका थिए ।
२४ महिनाको अवधिमा यो सिराजको दोस्रो डिमेरिट पोइन्ट थियो, जसले उनको डिमेरिट पोइन्ट संख्या दुई पुगेको छ । उनको अघिल्लो डिमेरिट पोइन्ट डिसेम्बर ७, २०२४ मा अष्ट्रेलिया विरुद्धको एडिलेड टेस्टको समयमा आएको थियो । २४ महिनाको अवधिमा चार वा सोभन्दा बढी डिमेरिट पोइन्ट जम्मा गर्ने खेलाडीहरूलाई प्रतिबन्ध लाग्ने नियम रहेको छ ।
आईसीसी आचार संहिता अनुसार, लेभल-१ र लेभल-२ को उल्लङ्घनले १ देखि २ डिमेरिट पोइन्टका साथै म्याच शुल्कको शून्य देखि ५० प्रतिशतसम्म शुल्क तिर्नुपर्ने हुन्छ । लेभल-३ को उल्लङ्घनले ६ टेस्ट र १२ एकदिवसीय खेल निलम्बनमा पर्छ ।
सिराजलाई १ डिमेरिट पोइन्ट जरिवाना गरिएको छ । अर्कोतर्फ, यदि कुनै खेलाडीले २४ महिनामा चार वा सोभन्दा बढी डिमेरिट पोइन्ट पाएमा निलम्बन पोइन्टमा परिणत हुन्छन्, त्यसपछि खेलाडीलाई एक टेस्ट वा दुई एकदिवसीय वा दुई टी-२० खेलको लागि प्रतिबन्ध लगाउन सकिन्छ । डिमेरिट पोइन्ट २४ महिनासम्म रेकर्डमा रहन्छ, त्यसपछि ती हटाइन्छ ।
