
पोखरा स्पोर्टस । गण्डकी प्रदेश टेनिस संघले दीर्घकालीन तथा महत्वाकांक्षी अभियान अन्तर्गत ‘ग्रो टेनिस ट्यालेन्ट हन्ट’ कार्यक्रम सुरूवात गरेको छ ।
८ वर्षभित्रमा १० जना राष्ट्रियस्तरका टेनिस खेलाडी उत्पादन गर्ने लक्ष्यसहित ‘ग्रो टेनिस’ कार्यक्रमको सुरूवात गरिएको हो । सो अन्तर्गत ८ देखि १२ वर्ष उमेर समुहका बालबालिकालाई लक्षित गर्दै खेलाडी छनौट गर्न ट्यालेन्टहन्ट कार्यक्रम सुरूवात गरिएको संघका अध्यक्ष बिनोद कायस्थले जनाएका छन् ।
कार्यक्रमको संघका अध्यक्ष कायस्थले शुभारम्भ गर्दै ट्यालेन्टहन्टबाट २० जना खेलाडीहरु छनौट गरीने बताए । उनका अनुसार छनौट भएका २० जना मध्ये १० जनालाई ग्रो टेनिस अन्तर्गत ८ वर्ष सम्म निशुल्क प्रशिक्षण संगै अन्य सुविधाहरु समेत दिइने छ भने अन्य १० जनालाई जुनियर टेनिस अन्तर्गत प्रशिक्षण दिइने योजना रहेको अध्यक्ष कायस्थले जनाएका छन् ।
आइतबारबाट सुरू भएको सो कार्यक्रममा विभिन्न विद्यालयका विपन्न वर्गका ३ सय बढि बालबालिकाहरुको सहभागिता रहेको थियो । सहभागि मध्येबाट कार्यक्रम अन्तर्गत पहिलो चरणमा ४० जना बालबालिका छनोट गरिने छ । तिनीहरूलाई ६ महिनासम्म नियमित प्रशिक्षण दिइनेछ । त्यसपछिको दोस्रो चरणमा ३० जना र अन्तिम चरणमा २० जना छनौट हुनेछन् । अन्तिम चरणमा छनौट भएका २० मध्येबाट १० जना ग्रो टेनिस र १० जना जुनियर टेनिसका लागि छनोट गरिने छ ।
नेपालको टेनिस खेल इतिहासमा नै पहिलो पटक सुरूवात गरिएको कार्यक्रममा संघका उपाध्यक्ष लोक बहादुर गुरूङ, महासचिव नविन चालिसे, कोषाध्यक्ष प्रिती बराल, कार्यसमिति सदस्य दिपक श्रेष्ठ, कास्की टेनिसका अध्यक्ष राजकुमार गुरूङ, अभिभावक एवं विभिन्न विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।
सो ट्यालेन्टहन्ट कार्यक्रम अन्तर्गत चार जना प्रशिक्षकले पहिलो चरणको छनौट भोलीबाट सुरू गर्ने तयारी रहेको छनौट समितिका सहसंयोजक प्रशिक्षक कुमार अधिकारीले जानकारी दिएका छन् ।
