
पोखरा स्पोर्टस । बात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणको तयारी सुरू भएको छ ।
नेपाली खेलकुदको इतिहासमा पहिलोपटक महिला भलिबल खेलाडीहरूको अक्सनको समेत आयोजना गरी तयारी सुरू गरिएको हो । ‘बात्सल्य एभरेष्ट महिला भलिबल लिग’ (EWVL) अन्तर्गत ऐतिहासिक रूपमा आयोजना हुन लागेको यो अक्सन श्रावण २ गते (जुलाई १८, २०२५) काठमाडौंमा सम्पन्न हुने भएको हो ।
छ वटा फ्रेन्चाइज टोलीहरूको सहभागितामा सञ्चालन हुने यो कार्यक्रम नेपाली महिला भलिबलको व्यावसायिक युगको थालनीको संकेतको रूपमा हेरिएको छ । अक्सन प्रणालीमार्फत टोलीहरूले राष्ट्रिय स्टार खेलाडी, नवप्रतिभा तथा उदाउँदा खेलाडीहरूबाट टिम चयन गर्नेछन् ।
यस ऐतिहासिक अक्सनले खेलाडी छनोट प्रक्रियालाई पारदर्शी, प्रतिस्पर्धात्मक तथा क्षमतामा आधारित बनाउने अपेक्षा गरिएको छ । खेलाडीहरूको सीप, योगदान र मूल्यलाई उचित सम्मान दिने यो पहल नेपाली महिला भलिबलका लागि एक नयाँ युगको सुरुआतको रूपमा लिइएको छ ।
“यो केवल अक्सन होइन, नेपाली महिला भलिबलको लागि युगान्तकारी मोड हो,” बात्सल्य एभरेष्ट महिला भलिबल लिगकी प्रमुख कार्यकारी अधिकृत (CEO) स्नेभी चापागाईंले भनिन्, “पहिलोपटक नेपाली महिला भलिबल खेलाडीहरू यस्तो व्यावसायिक संरचनामा प्रवेश गर्दैछन्, जहाँ उनीहरूको सीप, बजार मूल्य र पहिचानलाई औपचारिक मान्यता दिइँदैछ । हामी सबैका लागि यो गौरवको विषय हो।”
काठमाण्डौंमा हुने अक्सन कार्यक्रममा लिगका पदाधिकारी, फ्रेन्चाइज प्रतिनिधिहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति रहनेछ । बात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण यसै वर्ष भदौ २० देखि २८ गते (सेप्टेम्बर ५ – सेप्टेम्बर १३, २०२५) सम्म आयोजना हुने तालिका छ ।
#अबपलोमहिलाको
