एनपीएल विवादबारे मन्त्री चौधरीको स्पष्टिकरण -‘मेरो नाम जोड्नु गलत’

पोखरा, स्पोर्टस । नेपाल प्रिमियर लिग (एनपीएल) सन्दर्भमा हालै विभिन्न सञ्चारमाध्यममा आएका समाचारहरूलाई लिएर युवा तथा खेलकुद मन्त्री तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अध्यक्ष तेजुलाल चौधरीले एक विज्ञप्ति जारी गर्दै आफ्नो धारणा स्पष्ट गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरमा हाई परफमेन्स सेन्टरको उद्घाटनका क्रममा एनपीएलबारे टिप्पणी गरेसँगै यो विषय थप चर्चामा आएको हो । त्यसको भोलिपल्ट बिहीबार मन्त्री चौधरीले विज्ञप्ति सार्वजनिक गर्दै एनपीएल रोक्ने आफ्नो कुनै पनि मनसाय नरहेको प्रस्ट पारेका छन् ।

विज्ञप्तिमा उल्लेख गरिएको छ कि–“एनपीएलको पहिलो संस्करणका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सिफारिसमा छानबिन कार्यदल गठन गरिएको र सो कार्यदलले आवश्यक अध्ययन पूरा गरी प्रतिवेदन बुझाइसकेको अवस्थामा त्यस विषयलाई अनावश्यक रूपमा अतिरञ्जित गर्नु दुःखद भएको” मन्त्री चौधरीले बताएका छन् ।

उनले भनेका छन्, “कार्यदलको प्रतिवेदन मन्त्रालयले अध्ययन गर्नेछ र सोही आधारमा आवश्यक कार्यान्वयन अघि बढाइनेछ।”

मन्त्री चौधरीले एनपीएलको दोस्रो संस्करण नेपाल क्रिकेट संघ (क्यान) ले नियमनअनुसार सञ्चालन गर्ने अपेक्षा रहेको पनि जनाएका छन् । साथै सञ्चारमाध्यममा आफ्नो नाम जोडेर आएका समाचारप्रति गम्भीर आपत्ति जनाउँदै एनपीएल रोक्ने विषयमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् ।

उनले कार्यदलले समेत प्रतियोगिताको निरन्तरताको पक्षमा प्रतिवेदन बुझाएको उल्लेख गर्दै, खेलाडीहरूको मनोबल गिराउने किसिमका भ्रमपूर्ण प्रचारप्रति सतर्क रहन आग्रह गरेका छन् ।

खेल संघ वा महासंघहरूले आर्थिक तथा प्रशासनिक पारदर्शिता अपनाउनुका साथै प्रचलित कानुनको पूर्ण पालना गर्नुपर्ने कुरामा जोड दिँदै मन्त्री चौधरीले भनेका छन्–“खेल र खेलाडीको हितविपरीत कुनै पनि कार्य सरकारलाई स्वीकार्य छैन । संघ, संस्था वा व्यक्तिको स्वार्थमा आधारित कुनै पनि गतिविधिमा मन्त्रालयको समर्थन रहने छैन ।”

उनले समग्र खेलकुद क्षेत्रको दिगो विकासका लागि सबै खेल संघ–संस्थाहरूलाई प्रचलित कानुनको दायरामा रही कार्य गर्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close