
पोखरा स्पोर्टस । दक्षिण अफ्रिकाका वर्तमान कप्तान वियान मुल्डरले आफ्नो निजी ३६७ रनमा इनिंग घोषणा गरको विषय अहिले क्रिकेट जगतमा चर्चाको विषय बनेको छ ।
मुल्डरले जिम्बाबेविरुद्ध अविजित ३६७ रन बनाएको अवस्थामा इनिंग घोषणा गरेर ब्रायन लाराको ४०० रनको रेकर्ड तोड्ने अवसर आफैले गुमाएका थिए । उनले यस निर्णयमा लारा महान खेलाडी भएकोले आफुले सम्मानस्वरूप त्यस्तो निर्णय लिएको बताएका थिए ।
उनको यस निर्णयलाई धेरै क्रिकेटरले गलत निर्णय भनेका छन् । खेलाडीको जीवनमा धेरै कम पटक यस्तो अवसर आउने भन्दै मुल्डरले गलत निर्णय गरेको प्रतिक्रिया दिएका छन् ।
यसैबीच महान ब्याट्सम्यान ब्रायन लाराले यस विषयमा मुल्डरसँग कुराकानी गरेको विषय बाहिरिएको छ । मुल्डरले लाराले आफुसँग फोन गरेर कुरा गरेको क्रिकइन्फोलाई बताएका छन् । लाराले कुराकानीमा ४०० रन बनाउनेतर्फ किन नगएको भन्दै आश्चर्य व्यक्त गरेको मुल्डरले बताएका छन् ।
मुल्डरले भने- ‘ब्रायन लाराले मलाई यो रेकर्ड तोड्ने प्रयास गर्नुपर्थ्यो भनेर भन्दा म आफै आश्चर्यमा परे । मलाई लाराले रेकर्ड तोड्ने प्रयास किन नगरेको भन्दै प्रश्न सोधे ।’ मुल्डरले लाराको मुखबाट यस्तो सुनेर आफु खुसी भएको बताए । साथै मुल्डरले ब्रायन लारासँग कुरा गरेपछि राहत महसुस भएको बताए । लाराले आफ्नो लागि नाम बनाउनु पर्छ र रेकर्ड तोड्नका लागि भएकाले अवसर पाएको बेला तोड्नुपर्ने बताएको मुल्डरले बताए ।
मुल्डरले भने- ‘त्यो उनको दृष्टिकोण थियो, तर म अझै पनि विश्वास गर्छु कि मैले सही काम गरें र खेलको सम्मान गर्नु मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो।’
टेस्ट क्रिकेटको एक इनिंगमा मुल्डरले बनाएको यो पाँचौ धेरै रन हो । टेस्ट क्रिकेटमा वेस्ट इन्डिजका पुर्व महान खेलाडी ब्रायन लाराले २००४ मा इङल्याण्डविरुद्ध सबैभन्दा बढी ४०० रन बनाएका छन् । लारापछि अस्ट्रेलियाका म्याथ्यु हेडेनले जिम्बाबेविरुद्ध २००३ मा ३८० रन बनाएका थिए ।
त्यस्तै यस सूचीमा तेस्रो स्थानमा ब्रायन लारा नै छन् । लाराले इङल्याण्डविरुद्ध १९९४ मा ३७५ रन बनाएका थिए । त्यस्तै चौथो स्थानमा श्रीलंकाका महिला जयवर्धनेले २००६ मा दक्षिण अफ्रिकाविरुद्ध ३७४ रन बनाएका थिए ।
