
पोखरा स्पोर्टस । ब्राजिलका सुपरस्टार फुटबलर नेइमारले सान्तोसमा डिसेम्बरसम्मका लागि सम्झौता नवीकरण गरेका छन् । जुन ३० मा सम्झौता सकिन लागेकोमा नेइमारले डिसेम्बरसम्म सान्तोसमै बस्ने निर्णय गरेका हुन् ।
नेइमार गत जनवरीदेखि आफ्नो पुर्व क्लब सान्तोसमा आवद्ध रहेका छन् । यसअघि नेइमारले सान्तोस छोडेर युरोपियन क्लबमा फर्किने बताइएको थियो ।
नेइमारले सान्तोससँग सम्झौता नवीकरण गरेपछि आफुले आफ्नो मनको भनाई सुनेको उल्लेख गर्दै यस क्लबमा आफु सहि अर्थमा खुशी हुने बताएका छन् । सान्तोस जानु अघि नेइमारले साउदी क्लब अल हिलालसँगको सम्झौता रद्ध गरेका थिए ।
नेइमारको लगातारको इन्जुरीले उनको फुटबल क्यारियर ढुलमुलको अवस्थामा रहेको छ । इन्जुरीकै कारण नेइमार राष्ट्रिय टिमबाट पनि लगातार खेल्न सकिरहेका छैनन् । नेइमार सान्तोसमै रहेर २०२६ को फिफा विश्वकपको तयारी गर्ने उद्धेश्य राखेको विश्लेषण गरिएको छ ।
नेइमारले २००९ मा सान्तोसका लागि डेभ्यु गरेका थिए । २०१३ मा बार्सिलोना जानु अघि नेइमारले सान्तोसका लागि २२५ खेलमा १३६ गोल गरेका थिए । सो अवधिमा नेइमारले सान्तोसमा तीन सिजन सिरी ए को उपाधि जितेका थिए भने एक सिजन उपविजेता बनेका थिए । त्यस्तै एक सिजन कोपा ब्राजिल र २०११ मा कोपा लिबरटाडोरेज जितेका थिए ।
