
पोखरा स्पोर्टस । म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा सुरु हुने गण्डकी प्रदेशस्तरीय ‘म्याग्दी कप पुरुष भलिबल प्रतियोगिता २०८२’ को सम्पूर्ण तयारी पुरा भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको प्रवर्द्धन तथा जिल्ला खेलकुद विकास समिति म्याग्दीको सहकार्यमा यहि ८ गते देखि असार ११ गते सम्म म्याग्दी जिल्लाको बेनीबजार (खुल्ला मञ्च)मा सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न ८ जिल्ला भलिबल संघका टोलीहरू सहभागी हुने पक्का भएको संघका अध्यक्ष तेजेन्द्र बाँनियाले जानकारी दिएका छन् ।
‘लीग कम नकआउट’ आधारमा सञ्चालन हुने प्रतियोगितामा स्याङ्जा, पर्वत, कास्की, म्याग्दी, बागलुङ, नवलपुर, तनहुँ र मुस्ताङ जिल्लाको सहभागिता रहेको छ ।
तालिका अनुसार पहिलो दिन असार ८ गते चार खेल सम्पन्न हुनेछन् ।
प्रतियोगितामा बिजेता टिमले नगद रु २ लाख, उपविजेताले नगद रु १ लाख तथा तेस्रो हुने टिमले नगद रु ५० हजार तथा चौथो हुने टिमले नगद २५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्ने अध्यक्ष बाँनियाले बताए ।
त्यस्तै प्रतियोगितामा उत्कृष्ट प्रशिक्षक र सर्वोत्कृष्ट खेलाडीलाई जनही नगद रु ५–५ हजार तथा अन्य विद्यागत उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिबेरो, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट सेटरले जनही नगद रु ३–३ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको रेफ्री संयोजन एभिसी अन्तर्राष्ट्रिय रेफ्री टहलसिंह थापाले गरिरहेका छन् ।
भलिबललाई राष्ट्रिय खेलको रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो प्रतियोगिता गण्डकी प्रदेशको भलिबल विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको म्याग्दी भलिबल संघका महासचिब कुमार किशानले जनाएका छन् ।
म्याग्दी जिल्ला भलिबल संघ पछिल्लो चरणमा आफ्नै भलिबल खेल मैदान निर्माणका लागि जग्गाको खोजीमा समेत रहेको छ । गण्डकी प्रदेशमा भलिबल खेलाडी उत्पादनका लागि उर्वर भूमी रहेकोले पनि स्वदेश तथा विदेशबाट अक्षयकोष स्थापना संगै भलिबल खेल मैदानका लागि सहयोगी हातहरु जुटिरहेको अध्यक्ष बाँनियाले बताए । गण्डकी प्रदेशको भलिबल विकासमा एक महत्वपूर्ण कदम हुने विश्वास गरिएको बताउँदै उनले भने–“हामी निश्चित उद्धेश्यका साथ यो प्रतियोगिताको आयोजना गर्दैछौं । सबैको सहकार्यका लागि म आह्वान गर्न चाहन्छु ।”
प्रतियोगिताको उद्घाटन संघिय सरकारका उर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री खम बहादुर गर्वुजाले गर्ने तय भएको महासचिब किशानले जानकारी दिए ।
