गण्डकी प्रदेश तेस्रो पुरुष टि–२० क्रिकेटमा स्याङ्जा च्याम्पियन

पोखरा स्पोर्टस । पोखरा रंगशालामा सम्पन्न गण्डकी प्रदेश तेस्रो पुरुष टि–२० क्रिकेट प्रतियोगिताको फाइनलमा स्याङ्जाले नवलपुरलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको छ ।

स्याङ्जाले टस जितेर फिल्डिङ रोजेपछि, नवलपुरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२९ रन बनायो । तर जवाफी व्याटिङमा १३० रनको लक्ष्य पछ्याउन उत्रिएको स्याङ्जाले अन्तिम बल बाँकी छँदै १९.५ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै च्याम्पियन बनेको हो ।

यस अघि नवलपुरका लागि रिजन काफ्लेले २५ रन, दीपक डुम्रेले १९ रन, र अपराजित पौडेलले आक्रामक १८ रन बनाउँदै टिमलाई सम्मानजनक स्थितीमा पुर्याएका थिए । स्याङ्जाका कप्तान सन्दीप खत्री क्षेत्रीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १८ रन खर्चिएर ३ विकेट लिए । उनी खेलको म्यान अफ दि म्याच बने । यस्तै बलिङतर्फ सुजन गौतम, अश्वनी राना, प्रदीप पाण्डेले समान १–१ विकेट लिए ।

यता स्याङजाका लागि जवाफी व्याटिङमा इश्वर क्षेत्रीले ६ चौकाको मद्धतमा आक्रामक ३० रन प्रहार गरे । त्यस्तै सुजन गौतमले २८ रन र सन्दीप खत्री क्षेत्रीले १४ रन बनाए । अनिश ताम्राकारले ११ र अश्वोनी राणा १३ रनको संयमित ब्याटिङ गर्दै टोलीलाई जित दिलाए । नवलपुरका लागि हिमाल न्यौपानेले २ विकेट लिए भने कप्तान कमल परियारले पनि २ विकेट लिए । दीपक डुम्रे र सुदीप अर्यालले समान १–१ विकेट लिए ।

च्याम्पियन भए संगै स्याङजाले नगद रु १ लाख र उपविजेता बनेको नवलपुरले नगद रु ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेका छन् ।

यहि जेठ ३१ बाट सुरू भएको प्रतियोगितामा ८ जिल्लाको सहभागिता रहेको थियो । प्रतियोगितामा म्यान अफ दि सिरिज संगै वेष्ट व्याटरको उपाधि स्याङजाका सन्दिप खत्री क्षेत्रीले हात पारे । उनले ट्रफी संगै नगद रु ४ हजार प्राप्त गरे भने वेष्ट बलर पर्वतका अमृत गुरूङ र उदियमान खेलाडी तनहुँका वंश क्षेत्री घोषित भए । उनीहरुले जनही नगद २–२ हजार प्राप्त गरे ।

प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवर्द्धनमा सम्पन्न प्रतियोगितामा विजेता टोली तथा खेलाडीहरुलाई प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरूङ, प्रतियोगिताका संयोजक ऋषीराम गौतम संघका सचिब सुमनराज कार्की, जिल्ला खेलकुदका अध्यक्ष मिलन गुरूङ लगायतले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close