
पोखरा स्पोर्टस । चिनमा हालै सम्पन्न ड्रागन बोट रेसमा बिजेता नेपाली राष्ट्रिय टोलीलाई पोखरा महानगर पालिकाले एक कार्यक्रम गरी स्वागत संगै बधाई दिएको छ ।
सो प्रतियोगिताबाट बुधबार अबेर नेपाल फर्किएको टोलीलाई आज एक कार्यक्रमका बीच पोखरा महानगर पालिकाले स्वागत गरेको हो । नेपाली टोलीलाई पोखरा महानगरका मेयर धनराज आचार्यले स्वागत गर्दै मित्रराष्ट्र चिनमा पदक जितेर आउनु महत्वपूर्ण रहेको बताए । उनले भने–“यहाँहरुले कठिन समय र परिस्थितीका बावजुद अव्वल रुपमा आफूलाई उभ्याउँदै जित हात पार्नु भएको छ । म खेलाडीसहित सम्पूर्ण टोलीलाई बधाई दिन चाहन्छु ।” यो सहभागिताले नेपाल र चिन बीचको सम्वन्ध प्रगाढ बनाउन सहयोग पुगेको बताउँदै मेयर आचार्यले चीन लगायत अन्य देशमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि पहल गर्ने बताए ।
खेलमा कहिले जित र कहिले हार व्यहोर्नु पर्ने भएकोले पनि हरेक परिस्थिती संग जुध्न खेलाडीहरु सक्षम हुनुपर्ने औंल्याउँदै अब नेपालमा अक्टोबरमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि समेत तयारी अवस्थामा रहन मेयर आचार्यले आग्रह गरे । उनले चार प्रदेशमा संघ गठन भइसकेको बताउँदै सबै प्रदेशमा खेलाडी उत्पादनका लागि आवश्यक खेल सामाग्री समेत उपलव्ध गराउने तयारी भइरहेको जानकारी दिए ।
कार्यक्रममा नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक निम बहादुर मगरले खेलाडीलाई आवश्यक व्यवस्था भएमा जुन सुकै प्रतियोगितामा नेपाली टोली पदक जित्न सक्षम रहेको बताए ।
सो अवसरमा पोखरा महानगर पालिकाका सिनियर डिभिजन इन्जिनियर विमल रन्जन कार्की, हिमालयन टुरिजमका विश्वशंकर पालिखे, पोखरा महानगर ड्रागन बोटका फोकल पर्सन नवराज अधिकारी, ड्रागन बोट केन्द्रिय संघका पदाधिकारीको समेत सहभागिता रहेको थियो ।
नेपाली ड्रागन बोट टिमको मुख्य प्रशिक्षकमा निम बहादुर मगर र खेलाडीहरुमा सुरेन्द्र चेपाङ, सिसोम थापा मगर, सुभाष राना मगर, मनिक श्रेष्ठ, आशिष थापा मगर, याम कुमार गुरूङ, अमृत गुरूङ, दिपेश राना मगर, रविन ढकाल, गोविन्द प्रसाद अधिकारी, रविन गुरूङ, सुदिप चेपाङ र चन्द्रकान्त बास्तोला रहेका थिए ।
१४ टिम सहभागिता रहेको प्रतियोगितामा नेपाली टोली उपविजेता बन्दै नगद ३ लाख जितेर स्वदेश फर्किएको हो ।
