
पोखरा स्पोर्टस । नेपाली ड्रागन बोट टिम मित्र राष्ट्र चीनको सिचुवान प्रान्तको लिन्जीमा आइतबार सम्पन्न मैत्रीपुर्ण ड्रागन बोट रेस प्रतियोगितामा दोश्रो स्थान हात पारेको छ ।
कुल १४ टिम को सहभागिता रहेको उक्त प्रतियोगितामा नेपालले २०० मिटरको स्पर्धामा दोस्रो स्थान हात पार्न सफल भएको नेपाल ड्रागन बोट संघका केन्द्रिय अध्यक्ष एवं पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
हालै नेपालमा सम्पन्न भएको प्रतियोगितामा पराजय ब्यहोरेको नेपाली टोलीले चिनमा उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेको मेयर आचार्यले बताए । उनले भने–“यो हाम्रो लागि निकै खुसीको विषय हो । नेपाली टोलीले १४ टिम संगको प्रतिस्पर्धामा उत्कृष्टता हासिल गर्दै दोस्रो भएको छ । म नेपाली टोलीका खेलाडी तथा सदस्यहरुलाई यो जितका लागि बधाई दिन चाहन्छु ।”
जीत संगै नेपाली टोलीले १५००० आरएमबी अर्थात .नेरु करिव ३ लाख समेत हात पारेको गण्डकी प्रदेश ड्रागन बोट संघका महासचिव रविन्द्रराज पौडेलले जानकारी दिए ।
नेपाली टोलीले करिव ४ हजार मिटरमा अवस्थित प्रतियोगिता स्थलमा जित हात पारेको हो । यो जितले नेपाली खेलाडी जस्तो सुकै कठिन स्थान र घडीमा आफ्नो क्षमता प्रदर्शन गर्ने मेयर आचार्यले बताए ।
प्रतियोगितामा ५०० मिटर, २०० मिटर, याकयार्ड र कायाकिङ गरि कुल ४ बिधा मा प्रतियोगिता सम्पन्न भएको थियो ।
गत वर्ष चीनकै लुलाङमा आयोजित प्रतियोगितामा नेपाली टिमले क्लिनस्विप गर्दै सबै इभेन्टमा कव्जा गरेको थियो । नेपाली टोली केरुङ नाका हुँदै असार ४ गतेनेपाल आइपुग्ने छ ।
नेपाली ड्रागन बोट टिम
मुख्य प्रशिक्षक/खेलाडी– निम बहादुर मगर र खेलाडीहरुमा सुरेन्द्र चेपाङ, सिसोम थापा मगर, सुभाष राना मगर, मनिक श्रेष्ठ, आशिष थापा मगर, याम कुमार गुरूङ, अमृत गुरूङ, दिपेश राना मगर, रविन ढकाल, गोविन्द प्रसाद अधिकारी, रविन गुरूङ, सुदिप चेपाङ र चन्द्रकान्त बास्तोला रहेका छन् ।
