
पोखरा स्पोर्टस । ‘प्रचण्ड कप’ महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले बिजयी सुरूवात गरेको छ ।
राष्ट्रिय खेलकुद एकेडेमी र अखिल नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा मंगलबारबाट पोखरा रंगशालाको बहुउद्धेश्यिय कभर्डहलमा सुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिसले अर्को विभागिय टोली शसस्त्र प्रहरीको एपिएफ क्लब विरुद्ध ३–० को सहज जित निकालेको हो ।
पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट जित्न भने एपिएफ विरुद्ध केही प्रतिस्पर्धा गर्नु पर्यो । दोस्रो सेट २७–२५ ले जितेको पुलिसले तेस्रो सेट सहज रुपले २५–१७ ले जित्न सफल रह्यो ।
यस अघि प्रतियोगिताको उद्घाटन एक भव्य कार्यक्रमका बीच पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए ।
यस्तै आज नै भएको दोस्रो खेलमा टिप टप न्यू डायमण्ड क्लब बिजयी भएको छ । न्यू डायमण्डले एभरेष्ट क्लबलाई २५–११, २५–१८ र २५–१० ले पराजित गरेको हो ।
जेठ ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ टिमको सहभागीता रहेको छ । विभागिय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लब, सशस्त्र प्रहरी बलको मात्रै प्रतियोगितामा सहभागिता छ । त्यस्तै स्टेप रामपुर, गण्डकी प्रदेश, एभरेष्ट भलिबल क्लब र न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबको सहभागिता रहेको छ ।
विजेता टिमले रु ६ लाख, उपविजेताले रु ३ लाख, र तेस्रो हुने टिमले रु १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, उत्कृष्ट खेलाडीले रु २० हजार, तथा विभिन्न विधागत उत्कृष्ट खेलाडीहरूले जनही रु १० हजार पुरस्कार प्राप्त गर्ने छन् ।
