
पोखरा स्पोर्टस । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को हल अफ फेममा समावेश गरिएको छ ।
हल अफ फेममा समावेश भएपछि क्रिकेटर महेन्द्र सिंह धोनीले आइसीसीको हल अफ फेममा सामेल हुनु सम्मानको कुरा भएको बताएका छन् । उनले भनेका छन्–‘विश्वभरका विभिन्न युगका क्रिकेटरहरूको योगदानलाई मान्यता दिने आईसीसी हल अफ फेममा समावेश हुनु मेरो लागि ठूलो सम्मानको कुरा हो ।’ उनले अगाडी भनेका छन्– ‘यति महान खेलाडीहरूसँग मेरो नाम देख्नु साँच्चै एक उत्कृष्ट अनुभव हो । यो त्यस्तो क्षण हो जुन म सधैं कदर गर्नेछु ।
धोनी भारतबाट आईसीसी हल अफ फेममा समावेश हुने ११औं खेलाडी हुन् । उनीभन्दा पहिले नितु डेभिड, वीरेन्द्र सहवाग, डायन एडुलजी, विनोद मंकड, सचिन तेन्दुलकर, राहुल द्रविड, अनिल कुम्बले, कपिल देव, बिशन सिंह बेदी र सुनील गावस्करले यो सम्मान पाएका छन् ।
गावस्कर र बिशन सिंह बेदी भारतबाट आईसीसी हल अफ फेममा समावेश हुने सबैभन्दा पाको उमेरका खेलाडी हुन् । उनीहरूले २००९ मा यो सम्मान पाएका थिए ।
धोनीले २००४ मा भारतीय क्रिकेट टोलीको लागि आफ्नो पहिलो इनिङ खेलेका थिए । उनले आफ्नो क्रिकेट करियरमा ३५० एकदिवसीय, ९८ टी(२० र ९० टेस्ट खेल खेलेका छन्।
उनको कप्तानीमा भारतीय क्रिकेट टोलीले २००७ मा आईसीसी टी–२० विश्वकप, २०११ मा आईसीसी विश्वकप र २०१३ मा च्याम्पियन्स ट्रफी जितेको थियो ।
