
पोखरा स्पोर्टस । पोखरामा बास्केटबलको तीन दिने रेफ्रि प्रशिक्षण शनिबारबाट सुरू भएको छ । पोखरा रंगशालामा आयोजित एक कार्यक्रमका बीच सो प्रशिक्षणको नेपाल बास्केटबल संघका केन्द्रिय उपाध्यक्ष जुम प्रसाद गुरूङले गरे ।
सो अवसरमा बोल्दै उपाध्यक्ष गुरूङले प्रतियोगितालाई सहजरूपमा सम्पन्न गर्न रेफ्रिको भूमिका महत्वपूर्ण हुने भएको बताउँदै यस प्रशिक्षणले उत्कृष्ट रेफ्रि उत्पादन हुनेमा आफू विश्वस्त रहेको जनाए ।
खेललाई विवादरहित बनाउन रेफ्रिको भूमिका महत्वपूर्ण हुने बताउँदै आफूले सिकेको शिप व्यवहारमा उर्तान उपाध्यक्ष गुरूङले आग्रह गरे ।
कार्यक्रममा गण्डकी प्रदेश बास्केटबल संघका अध्यक्ष एवं प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरूङले रेफ्रिको भूमिका खेल मैदानमा प्रभावकारी भएमा मात्रै प्रतियोगिताले सार्थकता पाउने बताउँदै दर्शकहरुमा समेत उत्साह आउने उल्लेख गरे । संघले खेल मैदानमा रेफ्रिको भूमिका प्रखर बनाउन प्रदेश खेलकुद परिषदको सहकार्यमा यो प्रशिक्षण आयोजना गरिएको बताउँदै उनले तीन दिने प्रशिक्षणले यूवा रेफ्रि उत्पादन समेत महत्वपूर्ण हुने उल्लेख गरे ।
कार्यक्रममा कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष कृष्ण गुरूङले गण्डकी प्रदेशमा लोकप्रिय खेलको रुपमा रहेको बास्केटबलका प्रतियोगिताहरुमा निष्पक्षता आवश्यक रहेकोले यो प्रशिक्षणले रेफ्रिहरुको भूमिका प्रभावकारी बनाउन प्रशिक्षणले महत्व राख्ने उल्लेख गरे ।
सो प्रशिक्षणमा विभिन्न विद्यालयका शिक्षक तथा विभिन्न जिल्लाका बास्केटबल प्रति रुची लिने ३० जनालाई रेफ्रि प्रशिक्षण प्रदान गर्न लागिएको संघका महासचिब विष्णु बहादुर गुरूङले पोखरा स्पोर्टसलाई जानकारी दिए । सहभागिहरुलाई फिबा टेक्निकल राज कुमार महर्जनले सहजिकरण गर्ने संघले जनाएको छ ।
