२०८२ जेष्ठ २४ गते शनिवार : आजको राशिफल

आजको राशिफल बिसं २०८२ जेष्ठ २४ गते शनिवार ईसं २०२५ जुन ०६ नेपाल सम्बत ११४५ तछलाथ्व एकादशी नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल एकादशी, चन्द्रमा तुला राशिमा, चित्रा नक्षत्र, वरियान योग, विष्‍ट करण । आज नेपालमा सूर्योदय बिहान ०५ बजेर ०७ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ५७ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ५१ मिनेट देखि ०८ बजेर ३५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।आज निर्जला एकादशी व्रत वा तुलसिको दल राख्‍ने दिन पनि रहेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज विधि, कानून र अनुशासनको पालना गर्नैपर्ने समय हो, लापरवाही गरेमा दण्ड वा जरिवाना तिर्नुपर्ने वा कानूनी फन्दामा फँस्ने सम्भावना देखिन्छ । आम्दानीका दृष्टिले कमजोर समय छैन, तर मन भावुक र चञ्चल बन्नसक्छ, त्यस्तै पारिवारिक प्रयोजनमा पनि केही समय खर्च हुनसक्छ । रूपसौन्दर्य र गहनागुरियामा आकर्षण बढ्नेछ, सिर्जनात्मक काम गीतसङ्गीत, नृत्य÷अभिनय वा कला र साहित्यका विषयमा रुचि जाग्ने समय हो ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
ओभर कन्फिडेन्समा नरहनु होला, परीक्षा वा प्रतिस्पर्द्धा नजिकै आएको छ भने खेलवाड र मनोरञ्जनलाई पूर्णतया त्यागेर थप मिहिनेत गर्नु समुचित हुनेछ । परिवारमा चलिरहेको कुनै असमझदारी वा भ्रमको निवारण हुनेछ । प्रयास, प्रतिस्पर्द्धा र सिकाइका आधारमा मात्र एउटा व्यक्ति दक्ष बन्न सक्दछ भन्ने ठानी आज जीवनको वास्तविक लक्ष्य पहिल्याउने दिन हो । कार्यालयमा सहयोगी साथीहरू र घरमा परिवारका सदस्यहरूले तपाईंका कुरा नबुझिदिंदा दिक्क मान्न सक्नुहुन्छ, तर आज रिस र आवेगमा नियन्त्रण गरेको असल हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मनको कुरो साथीले बुझिदिंदा आपसी सम्बन्धमा विश्वास र भरोसाको वातावरण बन्नेछ, एकान्तमा रमाउँदै भावना आदानप्रदान हुने समय हो । महत्त्वाकाङ्क्षा र असम्भव आशा जाग्नाले निराश हुन सक्नुहुन्छ । जुवातास, लटरी, चिट्ठा र सट्टापट्टामा धनलगानी गर्नुभयो भने पछुतो हुनेछ । नयाँ कारोबारप्रतिको आकर्षण बढ्नेछ । परिस्थिति आफ्नो पक्षमा नरहे पनि बुद्धि र ट्रिकको प्रयोग गरी लक्ष्यमा पुग्न सकिने दिन हो ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घरपरिवारमा राम्रो देखिन्छ, विभिन्न कुराको लाभ पाउने समय हो, तर कुरा काट्ने र खिसीट्युरी गर्नेहरूको क्रियाकलाप देखेर खिन्न बन्न सक्नुहुन्छ । पारिवारिक समस्याले खिन्न बनाउनेछ, तर आज लापरबाही गर्ने वा भुलिने दिन होइन किनभने आज गरेको मिहिनेतले राम्रो रिजल्ट दिनसक्छ । निर्णयात्मक काममा ध्यान केन्द्रित हुँदैन, घरायसी समस्या र सुखका बारेमा चिन्तन गर्ने दिन हो । विशेष काम गर्नुछ भने अभिभावक, पत्नी वा छोराछोरीका इच्छा बुझेर अघि बढ्नु ठीक हुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यक्तित्व विकासका निमित्त प्रयास गर्ने समय हो । परीक्षा÷अन्तर्वार्ता आदिमा सफलता हात पर्नेछ, काममा सहयोगीको साथ पाइने समय छ । सामूहिक काम वा सामाजिक क्रियाकलापमा संलग्न हुँदा फुर्सद पाइँदैन र लवमेटलाई छुट्टै समय दिन नपाउनाले वैचारिक मतभेद हुनसक्छ । नेटवर्किङको क्षेत्र वा सामाजिक सम्बन्धमा विस्तार हुनेछ । दृढ़ इच्छा शक्ति कायम राख्दा विपरीत परिस्थितिमा पनि विवेक गुम्दैन र समुचित काम बन्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मनले चाहेको व्यक्तिबाट कुनै नौलो कुरा सुन्न पाउँदा अझ हर्षित हुने वा कुनै उपहार प्राप्त गरेर दङ्गपर्ने समय हो । घरायसी वातावरण धमिलो देखिन्छ, जीवनसाथी वा आफन्तसँग कुराकानी भएको छैन भने घरमा सम्पर्क गरी परिस्थिति बुझ्नुहोला, नत्र मतभेद बढ्नसक्छ । सोचेभन्दा बढी धन कमाउने चाँजो मिल्नेछ, तर इज्जत धान्न वा आडम्बर देखाउने क्रममा धन खर्च गर्नसमेत मन हौसिने परिस्थिति छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
लगनशील भई परिश्रम गरेमा उत्कृष्ट परिणाम प्राप्त हुनेछ, आजको सानो प्रयासमा भाग्यको समेत साथ पाउनाले राम्रो रिजल्ट आउने छ । इच्छाशक्ति बढ्नेछ भने मानसम्मान र प्रतिष्ठा बढाउन गरिएको काममा सफल भइने छ, दायित्व र जिम्मेबारीको बोध गर्नुका साथै आफ्नो कर्तव्यनिर्वाहप्रति सचेत हुने समय हो । मिहिनेतका बलमा सम्मान र प्रतिष्ठा कमाउन सकिने राम्रो समय छ, प्रतिस्पर्द्धीहरू पछि पर्नेछन्, लगनशील बन्नसके दायित्व र जिम्मेवारीसमेत बढ्ने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्ना भावना र महत्त्वाकाङ्क्षाहरू उपर नियन्त्रण गर्नुपर्ने समय हो, लटरी, सट्टापट्टा वा अन्य कुनै आकस्मिक स्रोतबाट धेरथोर धन लाभ हुनसक्छ । तरल पदार्थको कारोवार, खाद्य पदार्थ, सौन्दर्य प्रसाधनका वस्तुहरू र फलफूल÷तरकारीको व्यवसायमा विशेष लाभ हुने दिन हो । हिसाबकिताब बिग्रनाले तनाव बढ्ने समय छ, अझ आफन्त नै भए पनि साक्षीजमानी बस्नु वा लेनदेनको काम गर्नु ठीक हुँदैन ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आम्दानीको स्रोतमा बढोत्तरी हुने दिन हो, कुनै नयाँ कारोवारप्रति कुनै आकर्षण छ भने लगानी बढाउँदा फाइदा नै हुनेछ । पारिवारिक सुखमा अभिबृद्धि हुने तथा छोराछोरीबाट सन्तोष मिल्ने समय छ । ज्ञान वा अनुभवको प्रयोग गरी कुनै महत्त्वपूर्ण विषयमा लाभ लिन सकिने छ । महत्त्वाकाङ्क्षा जाग्नेछ, कुनै दीर्घ प्रयोजनका योजना छन् वा विदेशमा पढ्ने सपना छ भने अझ धेरै मिहिनेत गर्नु जायज हुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
काम र कर्तव्यप्रति दिलचस्पी जाग्नेछ, नाम र व्यक्तित्वको सुगन्ध फैलने समय हो । व्यक्तित्व निर्माण वा प्रतिष्ठा बृद्धिको कुनै अवसर प्राप्त भएमा त्यसमा लागी पर्नु राम्रो हुन्छ । धन, मान र प्रतिष्ठा बढ्ने दिन हो । चाहेको जिम्मेबारी पाउनुका साथै प्रशंसा र पुरस्कार प्राप्तिको योग छ । व्यक्तित्व विकासका लागि प्रयास गर्ने समय हो, पार्टनरका तर्फबाट पनि कुनै खुसी हुने कुरा सुन्न पाइने छ र प्रसन्नता बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कार्यक्षेत्रबाट कुनै राम्रो समाचार आउनसक्छ । अभिभावक र बुजुर्ग व्यक्तिको सल्लाह मानेमा लक्ष्यप्राप्तिको मार्गमा सफल भइनेछ । याद गर्नुहोला, आजको दिन राम्रो बनाउन स्वयं आफ्ना लागि समय निकाल्न सक्नुपर्छ । आम्दानीको मार्गमा बढोत्तरी हुनाले जीवनमा नयाँ आयाम थपिने दिन हो । विदेशी परियोजनामा काम गरेमा सुसुप्त चाहनालाई जीवन्त तुल्याउन सकिने छ । शरीर हलुका र मन प्रसन्न रहनेछ, लामो समयदेखि एकान्तमा बसेर भलाकुसारी भएको छैन भने अब निराश हुनुपर्दैन, भेटघाटको अनुकूलता मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सहयोगीको अनुपस्थितिले दैनिक कारोबारमा मन्दी छाउने समय छ, तर पुरानो बाँकी बक्यौता उठाउने प्रयास गर्नुहोला, डुबेको वा गुमेको धन हातपार्न सक्नुहुन्छ । चिन्ता/शङ्का र डरले जरो गाड्नेछ, दिक्क लागेको छ भने बरु एकान्तमा बस्नु वा आध्यात्मिक गतिविधिमा सहभागिता जनाउनु राम्रो हुन्छ । हरेक क्रियाकलापमा सफल भइने छ, तर मुड घरिघरि अशान्त बन्नसक्छ । याद गर्नुहोला, अनुशासन र संयमता आजको सफलताको सूत्र हो ।
(ज्योपं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद)/एभरेष्ट न्यूज एजेन्सि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close