७औं राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप पोखरामा सुरू, सदस्य सचिब घिसिङले गरे उद्घाटन

पोखरा स्पोर्टस । ७औं राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप पोखरामा सुरू भएको छ । सो प्रतियोगिताको एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब टंकलाल घिसिङले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै सदस्य सचिब घिसिङले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमा आयोजना हुन नसक्दा आर्चरी लगायत अन्य विशेष खेलकुदहरू प्रभावित बनेको बताए । उनले भने–“दशौं राष्ट्रिय खेलकुद समयमा हुन सकेन । केही प्राविधिक समस्याहरू रह्यो । खेलाडीहरूले आफ्नो तयारी गरिरहेका पनि थिए । तर अन्तिम समयमा हुन सकेन ।”

पोखरामा पहिलो पटक आयोजना भएको इन्डोर आर्चरी च्याम्पियनसिपले खेलाडीहरुमा उत्साह आउनेमा आफू विश्वस्त रहेको बताउँदै सदस्य सचिब घिसिङले प्रतियोगिताले खेलाडीहरु भित्र रहेको क्षमता प्रदर्शनका लागि समेत उत्तिकै महत्वपूर्ण हुने उल्लेख गरे ।

नेपाली आर्चरी खेलले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्न सफल रहेको बताउँदै सदस्य सचिब घिसिङले १९ औं एसियाली खेलकुदमा समेत नेपाली खेलाडीहरुको सहभागिताले नेपाली आर्चरी खेलले निकै प्रशंसा पाएको बताए । उनले पोखराको बहुउद्धेश्यिय कमर्डहल सबै खेलका लागि उत्तिकै महत्वपूर्ण रहेकोले यसको उपयोग गर्न समेत आग्रह गरे ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभाका सदस्य विकल शेरचनले इन्डोर आर्चरीले गण्डकी प्रदेशको आर्चरी खेलको विकासमा कोशेढुङ्गा हुनेमा आफू विश्वस्त रहेको बताए । उनले नयाँ बजेटमा मुस्ताङमा हाइअल्टिच्यूड खेल मैदान निर्माणका लागि बजेट आउनु प्रशंसनिय रहेको बताउदै उनले अब गण्डकी प्रदेशका खेलाडीहरुका लागि सो खेल केन्द्र प्रशिक्षणको रुपमा अघि बढाउनु पर्ने कुरामा समेत जोड दिए ।

सांसद शेरचनले ५ वर्ष अघिबाट निर्माण सुरू भएको मुस्ताङको कभर्डहल अलपत्र अवस्थामा रहेकोले यथासिघ्र निर्माण सम्पन्न गर्न ध्यानाकषर्ण समेत गरे ।

गण्डकी प्रदेश आर्चरी संघको आयोजनामा सुरू भएको उक्त प्रतियोगिताको उद्घाटन कार्यक्रम संघका अध्यक्ष एवं सिनियर प्रशिक्षक किशोर कुमार गुरूङको अध्यक्षतामा भएको थियो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक योगेन्द्र शेरचनले पोखरामा आयोजना भएको इन्डोर आर्चरीले यूवा खेलाडीका लागि निकै उत्साहप्रद रहेको जनाए ।

भोली २४ गते सम्म पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आयोजना हुने उक्त प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद परिषद् गण्डकीको सहयोग तथा नेपाल आर्चरी संघको प्राविधिक सहयोगमा सञ्चालन हुँदैछ ।

प्रतियोगितामा तीन विभागीय टोली, कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशका दुई टिम गरी कुल ७० जना खेलाडीहरूको सहभागिता रहको छ । जसमा महिला खेलाडीहरुको संख्या २२ र पुरूषहरुको संख्या ४८ जना रहेको छ ।

प्रतियोगितामा रिकर्व महिला/पुरुष, रिकर्व टिम इभेन्ट, रिकर्व मिक्स इभेन्ट, कम्पाउण्ड महिलारपुरुष इन्डिभिजुअल, स्टाण्डर्ड महिला/पुरुष इन्डिभिजुअल, स्टाण्डर्ड मेन्स टिम इभेन्ट र मिक्स इभेन्ट गरी कुल १० इभेन्टमा १० स्वर्ण, १० रजत र १० काश्य पदकका लागि प्रतिस्पर्धा हुने केन्द्रिय सचिब समेत रहेका शेरचनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close