
पोखरा स्पोर्टस । खेलाडी उत्पादनको मेरुदण्डका रूपमा चिनिने राष्ट्रपति रनिङ शिल्डको केन्द्रिय प्रतियोगिता यहि जेष्ठ २८ देखि ३० गतेसम्म आयोजना हुने तयारी भइरहेको छ । प्रतियोगितामा सहभागिताका लागि गण्डकी प्रदेशका खेलाडी तथा टिम छनौट गर्ने उद्देश्यले गोर्खामा जेष्ठ २२ र २३ गते प्रदेशस्तरीय छनौट प्रतियोगिता सञ्चालन हुने गरी तोकिए पनि यातयात हडताल र विनियोजित रकम प्रदेशको अर्थ मन्त्रालयले टुङ्गो नलगाउँदा प्रतियोगिता माथी नै संकट उत्पन्न भएको हो । यातयात हडताल र बजेटकै कारण प्रदेश खेलकुद परिषदले प्रतियोगितालाई जेठ २६ र २७ गते हुने गरी सारिएको परिषदका सदस्य सचिब श्रीधर शर्माले बताएका छन् ।
आर्थिक वर्ष २०८१/८२ का लागि केन्द्रबाट राष्ट्रपति रनिङ्ग शिल्डका लागि प्राप्त हुनुपर्ने सर्सत अनुदान नआएपछि प्रतियोगिता सञ्चालनमा अन्यौलता रहेकै समयमा गण्डकी प्रदेश खेलकुद परिषद्ले आफ्नै बजेटको सिलिङ अन्तर्गत शीर्षक नं.२.७.१४.१०७ मा रहेको रू. १ करोड ८० लाख २४ हजारबाट कार्यक्रम सञ्चालनको तयारी गरेको थियो । उक्त शीर्षकको बजेट प्रदेशसभा द्वारा राष्ट्रिय खेलकुद प्रतियोगिता नभएको अवस्थामा ‘अन्य खेलकुद कार्यक्रम सञ्चालन र सहयोग’ भन्ने उल्लेख सहित स्वीकृत गरेको थियो ।
तर, प्रदेशको आर्थिक मामिला मन्त्रालयले सो बजेटलाई रोक्का राखेपछि खेलकुद परिषद्को तयारी प्रभावित भएको छ । मन्त्रालयले बजेट रोक्काको कुनै स्पष्ट कारण नदेखाएको र परिषदलाई समेत औपचारिक जानकारी नगराएको परिषद स्रोतले जनाएको छ ।
परिषदका अनुसार बजेट रोक्काका कारण राष्ट्रपति रनिङ शिल्ड जस्ता महत्वपूर्ण कार्यक्रम प्रभावित हुनुका साथै समग्र खेलकुद क्षेत्र अन्यौलमा परेको सदस्य सचिब शर्माले बताए । उनले भने–“समयमै बजेट व्यवस्थापन नभए प्रदेशका प्रतिभाशाली खेलाडी राष्ट्रिय स्तरमा सहभागिता जनाउनबाट बञ्चित हुने खतरा बढेको छ।”
खेलकुदको विकासलाई प्राथमिकतामा राख्दै प्रदेशसभाले स्वीकृत गरेको बजेट यस्तो प्रकारले रोक्का हुनुले पारदर्शिता र जवाफदेहितामा प्रश्न उठेको र सम्बन्धित मन्त्रालय तथा निकायले चाँडै यथोचित स्पष्टीकरण दिई समाधान निकाल्नुपर्ने माग खेलकुदका सरोकारवालाहरुले गरेका छन् । गण्डकी प्रदेश एथलेटिक्स संघका अध्यक्ष हरि बहादुर बरुवालले प्रदेशको अर्थ मन्त्रालयले खेलाडीहरुको हितका बारे नसोचेको बताए । उनले भने–“राष्ट्रपति रनिङ्ग शिल्ड यूवा खेलाडी उत्पादनको मुल आधार हो । यस्तो महत्वपूर्ण प्रतियोगिताका लागि मन्त्रालयले आफैले बुझेर रकम विनियोजन गर्नुपर्नेमा भएको रकम समेत रोक्नु खेलकुदको विकासका लागि अवरोध हो ।”
यता प्रदेश र राष्ट्रिस्तरको राष्ट्रपति रनिङ शिल्डका लागि विभिन्न जिल्लामा आ–आफ्नो तयारी चलिरहेको छ । यसै क्रममा कास्की र स्याङजामा खेलाडी छनौट भइरहेको र अन्य जिल्लामा समेत खेलाडी छनौट गरी परिषदबाट रकम प्राप्त हुने भन्दै खेलाडीहरुको लागि खेल पोशाक समेत खरिद गरिसकिएको ति जिल्लाहरुले जनाएका छन् ।
परिषदले प्रदेश सभाबाट स्विकृत रकम १ करोड ८० लाख २४ हजार रकम बाट प्रतियोगिता सञ्चालनका लागि मिति जेठ ८ गते मन्त्रालयलाई पत्रचार गरी आन्तरिक तयारी गरेको भए पनि सो रकम आर्थिक मामिला मन्त्रालयले विना जानकारी रोक्का गरेकोमा परिषद अचम्भित भएको उल्लेख गरिएको छ । यसै गरि मन्त्रालयले खेलाडी कल्याणकारी कोषका विषयमा समेत नवोल्दा थप अन्यौलता आएको जनाइएको छ ।
