माउन्ट अन्नपूर्णले बास्केटबल प्रतियोगिता आयोजना गर्ने

पोखरा स्पोर्टस । माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालय, भिसि मार्ग नदिपुर–३, पोखराले एसइई परीक्षा दिएर बसेका विद्यार्थीहरूको खाली समयलाई रचनात्मक र सिर्जनात्मक रूपमा सदुपयोग गर्ने उद्देश्यले पाँचौँ माउन्ट अन्नपूर्ण एसइई बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता जेठ १५ देखि १७ गतेसम्म सञ्चालन हुने विद्यालयले जानकारी दिएको छ ।

प्रतियोगितामा छात्र र छात्रा गरि कुल २० टिमको सहभागिता रहनेछ । छात्र तर्फ प्रथम हुने टिमले नगद रु २०,०००, दोस्रो हुनेले रु १०,००० सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । छात्रा तर्फ प्रथम हुने टिमले रु १५,००० र दोस्रो हुनेले रु ८,००० सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

त्यस्तै, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने ‘मोस्ट भ्यालुएबल प्लेयर’ छात्र र छात्राले जनही रु २,००० प्राप्त गर्ने छन् भने ‘टप स्कोरर’ छात्र र छात्राले जनही रु १,००० पुरस्कार स्वरूप प्राप्त गर्नेछन् ।

यसैबीच, विद्यालयले पहिलो पटक निशुल्क होटेल म्यानेजमेन्ट वर्कसप पनि यही अवधिमा सञ्चालन गर्ने भएको छ । वर्कसपमा हाउसकिपिङ, कफी बारिष्टा, बार सेवा, किचेन अभ्यास र बेकरी सम्बन्धी प्रत्यक्ष व्यावहारिक अभ्यास गराइनेछ । कार्यक्रममा करिब १०० जना विद्यार्थीको सहभागिता रहनेछ ।

विद्यालयका अनुसार, प्रतियोगितामा सहभागी हुने सबै विद्यार्थीहरू २०८१ सालको एसइई परीक्षा दिएर बसेका हुनु पर्नेछ । प्रतियोगिताको मूल उद्देश्य विद्यार्थीहरूलाई खेलकुदमार्फत अनुशासन, सहकार्य, आत्मविश्वास र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गराउनु रहेको विद्यालयले जनाएको छ ।

गण्डकी प्रदेशकै पहिलो निजी तहबाट सञ्चालित विद्यालयको रुपमा माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयले विद्यार्थीको समग्र विकासमा निरन्तर योगदान दिँदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close