
पोखरा स्पोर्टस । नवौं पिएम कप एनभिए लिग अन्तर्गत महिलातर्फ नेपाल पुलिस क्लब लिगमा अपराजित रहँदै फाइनलमा स्थान बनाएको छ । एनभिए लिगमा ५ खेलमा नेपाल पुलिस क्लब अपराजित रहँदै १४ अंकका साथ शिर्ष स्थानमा रहदै फाइनलमा यात्रा सुरक्षित राखेको छ भने न्यू डायमण्ड ५ खेलमा १ हार र ४ जितका साथ १२ अंकका साथ दोस्रो स्थान बनाएको छ । नेपाल पुलिस साविक विजेता समेत् हो ।

कुल ६ टिम सहभागिता रहेको महिलातर्फको प्रतिस्पर्धामा एभरेष्ट भलिबल क्लब ३ जीत २ हारका साथ कुल ९ अंकका साथ तेस्रो स्थानमा रहँदा एपिएफ कलब २ जित र ३ हारका साथ ६ अंकका साथ चौथो स्थान बनाएको इन्टरनेशल रेफ्रि डेलिगेट टहल सिंह थापाले जानकारी दिए ।
साविक विजेता समेत रहेको पुलिसले फाइनल पुगिसकेको अर्को टोली टिप टप न्यु डायमण्ड स्पोर्टस क्लब संग फाइनलमा भिड्ने छ भने तेस्रो र चौथो स्थानका लागि एभरेष्ट भलिबल क्लब र एपिएफ कलब भिड्ने छन् । उनीहरुको तेस्रो र चौथो स्थानका लागि हुने खेल विहान ८ बजे हुनेछ भने महिला तर्फको फाइनल खेल मध्यान्ह १२ बजे सुरू हुने डिबी नेपालीले जानकारी दिए ।
प्रतियोगिताका विजेता टोलीले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो स्थान हासिल गर्ने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । साथै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार र विधागत उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
महिला तथा पुरूष दुवैतर्फ विजेता टोलीले नेपाललाई प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् । पुरूषतर्फ काभा क्लब च्याम्पियन्स लिग तीन महिना पछि मालदिभ्समा हुनेछ भने महिलाको नेपालमा आयोजना हुनेछ ।
