
पोखरा स्पोर्टस । नेकपा माओबादी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पूष्पकमल दाहाल ‘प्रचण्ड’को नाउँमा पोखरामा पहिलो पटक राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । अखिल नेपाल खेलकुद महासंघको आयोजनामा उक्त प्रतियोगिता आयोजना हुने भएको हो ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)को इन्डोर कभर्डहल मर्मल सम्भार सुरू भए संगै देशकै ठूलो रंगशाला पोखरा रंगशाला भित्र रहेको दर्शक क्षमताले ठुलो बहुउद्धेश्यिय कभर्डहलमा पहिलो पटक महिला राष्ट्रिय भलिबल प्रतियोगिताको तयारी भइरहेको गण्डकी प्रदेशका पूर्व सांसद दिपक कोइरालाले पोखरा स्पोर्टसलाई जानकारी दिएका हुन् ।
प्रतियोगिताको अन्तिम तयारी बारे निकै तिव्रताका साथ छलफल चलिरहेको बताउँदै पूर्व सांसद कोइरालाले सम्भव जेठको अन्तिम सातामा प्रतियोगिताको सुरू गरिन लागिएको बताए । उनले भने–“अहिले मिति टुङ्गो लागिसकेको छैन । हामी छलफलमा नै छौं । पोखराको बहुउद्धेश्यिय कभर्डहलमा महिलाको राष्ट्रिय भलिबल प्रतियोगिता हुनेछ ।”
प्रतियोगितामा नेपाल आर्मी, नेपाल पुलिस, एपीएफ क्लब, न्यू डायमण्ड यूथ स्पोर्टस क्लब, एभरेष्ट भलिबल क्लब, र कर्णाली प्रदेश गरी ६ टोली सहभागीता गराउने विषयमा समेत छलफल चलिरहेको पूर्व सांसद कोइरालाले पोखरा स्पोर्टसलाई बताए ।
