‘पाँचौ टाइगर कप भलिबल प्रतियोगिता’ : २१ लाख बचत, हाल सम्मै सर्वाधिक

पोखरा स्पोर्टस । टाइगर ग्रुप अफ पोखरा नेपालले पाँचौ टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा तथा पुरुष भलिबल प्रतियोगिताको आय–व्यय सार्वजनिक गरेको छ । 

संस्थाले बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरी आय–व्यय सार्वजनिक गरेको हो । गत माघ १२ देखि २० गते सम्म आयोजना भएको प्रतियोगिताबाट रु १ करोड ७१ लाख ८९ हजार ५ सय ७१ रुपैयाँ आम्दानी तथा खर्चतर्फ रु १ करोड ५० लाख ८८ हजार ५ सय ६५ गरी कुल २१ लाख १ हजार ६ रुपैयाँ बचत गरेको संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले जनाएका छन् । टाइगर कपको यो आम्दनी विगतका चार संस्करणहरु भन्दा बढि हो । संस्थाले गत वर्ष भन्दा ३ लाख बढि आम्दानी गरेको हो ।

कुल आम्दानी मध्ये टिकट संकलनबाट रु ५७ लाख ३९ हजार ४४६ रुपैयाँ आम्दानी भएको संस्थाले जनाएको छ । त्यसै गरी स्वदेश तथा विदेश एवं संघ संस्थाहरुको सहयोगबाट रु ५६ लाख ५० हजार १२५, मुख्य प्रायोजकबाट रु २० लाख, राष्ट्रिय खेलकुद परिषदबाट रु ५ लाख, प्रदेश खेलकुद परिषद गण्डकीबाट रु १० लाख र पोखरा महानगर पालिकाले रु १० सहयोग गरेको छ सह प्रायोजकबाट १६ लाख सहयोग प्राप्त भएको आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष शर्माले बचत भएको रकम सामजिक विकास एवं खेलकुद क्षेत्रको विकासका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उनले भने–“टाइगर कपमार्फत भलिबल विकासमा सहयोग पुगेको छ भन्ने विश्वास लिएका छौं । यहाँहरुको सबैको सहयोगले प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्न भूमिका खेलेको छ । म स्वदेश तथा विदेशबाट सहयोगी संस्था तथा मित्रहरुलाई पुनः एक पटक यहाँहरु मार्फत आभार व्यक्त गर्दछु ।”

पत्रकार सम्मेलनमा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, सदस्य सचिव श्रीधर शर्मा, नेपाल भलिबल संघका उपाध्यक्ष याम बहादुर गुरुङलगायत विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा जिल्ला खेलकुद विकास समितिमा हालै मनोनयन भएका अध्यक्ष मिलन गुरूङ, उपाध्यक्ष तिलक बहादुर अधिकारी, सचिब अन्जु क्षेत्रीलाई सम्मान गरिएको थियो । सोही कार्यक्रममा पोखरा स्पोर्टस अवार्डमा विजेता भलिबलका खेलाडी द्वय अरुणा शाही र विश्वास अधिकारीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा टाइगर ग्रुपका सचिव डिवी नेपाली, प्रतियोगिताका संयोजक रामकृष्ण ज्ञवालीले समेत आफ्नो भनाई राखेका थिए ।

पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लबले जितेको थियो भने महिलातर्फ शसस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक उपाधि जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close