
पोखरा स्पोर्ट्स । नेपाललाई विश्व दौड प्रतियोगितामा गौरव दिलाउँदै आएकी अल्ट्रा रनिङ च्याम्पियन सुनमाया बुढा आगामी अन्नपूर्ण म्याराथनमा प्रतिस्पर्धा गर्ने भएकी छन् ।
जेठ २० गते (जुन ३) अन्नपूर्ण आरोहण दिवसको अवसरमा आयोजना हुने पाँचौं संस्करणको अन्नपूर्ण म्याराथनमा बुढाको सहभागिता सुनिश्चित भएको आयोजक अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष तथा म्याराथन संयोजक ललित गुरुङले जानकारी दिएका छन् ।
सानो गाउँबाट पहाड चढ्दै दौड यात्रा सुरु गरेकी बुढाले आज विश्वभरिका धावकहरूसँग प्रतिस्पर्धा गर्दै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउँदै आएकी छन् ।
सुनमायाले करिब एक दशकअघि ‘अल्ट्रा ट्रेल’ रनिङमा पाइला टेकेकी थिइन्। सन् २०१६ मा काठमाडौंको गोदावरीमा आयोजना भएको १२ किलोमिटरको ट्रेल रेसबाट औपचारिक रूपमा प्रतिस्पर्धा सुरु गरेकी उनले त्यसयता पछाडि फर्कनु परेको छैन ।
जुम्लाको पातारासी गाउँपालिका–२ स्थित पेरे गाउँमा जन्मेकी बुढाले सन् २०२५ को जनवरीमा हङकङमा आयोजित १०५ किलोमिटर दौड जितेर विश्व कीर्तिमान बनाएकी थिइन् । साथै, सन् २०२२ मा थाइल्यान्डको अल्ट्रा ट्रेलमा प्रथम स्थान हासिल गर्दै इतिहास रचिन् ।
त्यसै वर्ष फ्रान्समा आयोजित प्रतिष्ठित “युटीएमबी सीसीसी” दौडमा दोस्रो स्थान प्राप्त गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमै आफ्नो छाप छोड्न सफल भइन् । सन् २०२३ मा हङकङको ‘नर्थ फेस १००’ रेसमा पनि उनले प्रथम स्थान हासिल गरिन् ।
स्विट्जरल्याण्ड, चीन, इटाली, ओमान, मलेसिया, अस्ट्रेलिया लगायत दर्जनभन्दा बढी देशमा आयोजना भएका अन्तर्राष्ट्रिय दौडमा सहभागी हुँदै उनले नेपाली महिलाको क्षमता विश्वमञ्चमा उजागर गरिरहेकी छन् ।
नेपालमै आयोजित धरान म्याराथन, जुम्ला म्याराथन, ब्रेस्थलेस रन, एसएसआइजी, तेन्जिङ हिलारी म्याराथन, रारा अल्ट्रा तथा गोल्डेन वल्ड ट्रेल सिरिज जस्ता प्रतिस्पर्धामा समेत उत्कृष्ट प्रदर्शन गर्दै उनले थुप्रै पदक जितेकी छन् ।
सात दिदीबहिनीमध्ये चौथी सन्तान सुनमायाको खेलप्रतिको लगाव स्कुले जीवनदेखि नै देखिएको थियो । कक्षा ७ मा पढ्दा राष्ट्रपतिको रनिङ शिल्डमार्फत उनको औपचारिक खेल यात्रा सुरु भएको हो। विशेष कुरा के छ भने, उनकी पाँचौं बहिनी राममाया बुढा पनि दौडमा सक्रिय छन् ।
हाल ‘कैलाश फुगा’ ब्रान्डको प्रायोजनमा अन्तर्राष्ट्रिय दौड प्रतियोगितामा सहभागी भइरहेकी सुनमाया बुढाले अन्नपूर्ण म्याराथनमार्फत फेरि एकपटक नेपाली गौरवलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य राखेकी छन् ।
यस वर्षको अन्नपूर्ण म्याराथनमा हालसम्म ८० जना धावकले नाम दर्ता गराइसकेका छन्, जसमा २२ जना महिला धावक छन् । म्याराथनका प्राविधिक संयोजक रिकी योञ्जनका अनुसार स्विट्जरल्याण्ड, अष्ट्रेलिया, स्पेनलगायत करिब ७ देशका ८ जना विदेशी धावकले सहभागिता जनाउने छन् ।
नाम दर्ता गर्ने म्याद जेठ १५ गतेसम्म कायम रहेकाले सहभागी संख्या अझै बढ्ने अपेक्षा गरिएको छ ।
