
पोखरा स्पोर्टस । देशकै ठूलो रंगशाला–पोखरा रंगशालामा रङ्ग रोङ्गन तथा मर्मत कार्य सुरू भएको छ । २०६१ सालमा नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको अगुवाइमा भएको पर्खाल निर्माण २१ वर्ष पछि रङ्ग रोङ्गन तथा मर्मत कार्य सुरू भएको हो ।
स्वदेश तथा विदेशस्थित नागरिकहरुको प्रत्यक्ष सहयोगमा निर्माण सम्पन्न भएको दुई दशक पछि संघिय सरकारको यूवा तथा खेलकुद मन्त्रालयले रङ्गरोङ्गनका लागि आवश्यक बजेट विनियोजन गरे संगै मर्मत कार्य सुरू भएको प्रदेश खेलकुद परिषद गण्डकीले जनाएको छ ।
यता प्रदेश खेलकुद परिषदको धेरै पटकको प्रयास पछि यो मर्मत कार्य सफल भएको प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्माले बताए । उनले भने–“पोखरेली जनताको यो पर्खाल निर्माणमा ठूलो लगानी छ । यो उहाँहरुले खेलकुद प्रतिको सदभाव सम्पूर्णका लागि उदाहरण समेत हो । हामीले नै उहाँहरुलाई सम्मान समेत गरेका थियौं । सोही बेला मर्मतको विषय उठ्यो । जसमा मर्मत गर्ने कार्यका लागि हामीलाई अझै गम्भिर बनायो । अनि हामीले पहल थाल्यौं । जुन विषय अहिले सफल भएको छ र पर्खालको मर्मत सम्भार सुरू भएको छ ।”
पोखरा रंगशालाको पर्खाल रङ्गरोङ्गन संगै मर्मत कार्य सुरू भएकोमा नेपाल भूतपूर्व खेलाडी मञ्चले खुसी व्यक्त गरेको छ । मञ्चका अध्यक्ष दिल बहादुर गुरूङले पर्खाल मर्मत बारे मञ्चले आफ्ना भनाई विभिन्न सरोकारवालाहरु संग उठाउँदै आएको बताउँदै संघिय सरकारका खेलकुद मन्त्री संग सो बारे कुरा उठाए लगतै मर्मत कार्य अघि बढेको उनको भनाई थियो ।
मञ्चको साधारण सभाले समेत पर्खाल मर्मत गर्ने विषयलाई प्राथमिकतामा राखेको बताउँदै अध्यक्ष गुरूङले भने–“यो हाम्रो लागि निकै संवेदनशिल र महत्वपूर्ण विषय थियो । यो पर्खाल निर्माणमा दाताहरुको पसिना मात्रै होइन उनीहरुको पारिवारिक आस्था समेत गाँसिएको छ । त्यसैले पनि मर्मत सम्भार हाम्रो लागि पहिलो शर्त थियो ।”
पोखरा रंगशाला मर्मत सम्भारका लागि संघिय सरकारको १ करोड विनियोजित बजेटको करिव १२ देखि १३ लाख खर्च हुने गरी रङ्गरोङ्गन कार्य गर्न थालिएको इन्जिनियर अनिल अधिकारीले पोखरा स्पोर्टसलाई बताए । अधिकारीका अनुसार पर्खालमा वाटर प्रुफ रङ्ग लगाइने छ । जसका कारण ५–७ वर्ष पर्खाल सुरक्षित राख्न सहयोग पुग्ने उनको भनाई छ ।
