
पोखरा स्पोर्टस । गण्डकी प्रदेश यू१६ क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा स्याङ्जाले सान्त्वना जित हात पारे पनि फाइनलमा भने नवलपुर र कास्की भिड्ने भएका छन् ।
जारी प्रतियोगितामा समुह बी बाट नवलपुर दुई खेलमा एक जित र एक हार संगै दुई अंकका साथ नेट रन रेटका आधारमा पर्वतलाई पछि पार्दै फाइनल यात्रा तय गरेको प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
त्यस्तै यता कास्की सुमह एमा दुई खेलमा दुई जितका साथ ४ अंकका साथ फाइनलमा स्थान बनाएको हो ।
छनोट प्रतियोगिता २०८२ अन्तर्गत चौथो दिनको खेलमा स्याङ्जाले नवलपुरलाई ४ विकेटले पराजित गर्दै शानदार जित दर्ता गर्यो ।
पहिले ब्याटिङ गरेको नवलपुरले ३१.५ ओभरमा १५१ रनमा सबै विकेट गुमायो । ओपनर समीर न्यौपानेले ४३ बलमा ७ चौका र १ छक्कासहित ४३ रन बनाउँदै सबैभन्दा धेरै रन जोड्न सफल भए । जितेन्द्र पुनले ३० रनको धैर्यपूर्ण पारी खेले । अन्तिमतिर हिमाल बिकले (१७ बलमा २३ रन) र सैलेश काफ्ले (१० बलमा १७ रन) को आक्रामक योगदानले टोलीलाई १५० पार गराउन मद्दत गर्यो ।
यता स्याङ्जाको बलिङतर्फ प्रकाश खनालले ५ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए भने करण गैह्रे र अभिषेक भट्टराईले २–२ विकेट लिए ।
जवाफी ब्याटिङमा स्याङ्जा टोली शुरुवातमै दबाबमा परेको थियो । ६१ रनमा ४ विकेट गुमाएपछि पारी संकटमा थियो । तर, स्वपनिल भट्टराईले ५३ बलमा संयमित २० रनको पारी खेल्दै पारी सम्हाले । अन्त्यमा करण गैह्रेको १७ बलमा आक्रामक २५ रनको योगदानले टोलीलाई ३४.४ ओभरमा ६ विकेटको जित दिलायो ।
नवलपुरका सैलेश काफ्ले र सुशील भुषालले समान २ विकेट लिए ।
प्लेयर अफ द म्याचको उपाधि करण गैह्रेले प्राप्त गरे । उनले ५ ओभरमा २९ रन खर्चेर २ विकेट लिएका थिए र २५ रनको अविजित पारी समेत खेले ।
प्रतियोगितामा विजेता टिमले आगामी यू१६ इस्ट जोन कप २०२५ का लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
