
पोखरा स्पोर्टस । बाग्लुङमा करिव दुई दशक पछि १५ दिने जुनियर छात्र/छात्रा ह्याण्डबल प्रशिक्षण कार्यक्रम सुरू भएको छ ।
गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना, बाग्लुङ जिल्ला ह्याण्डबल संघको व्यवस्थापन तथा जिल्ला खेलकुद विकास समिति बाग्लुङको समन्वयमा उक्त प्रशिक्षण सुरू भएको हो । प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा सुरू गरिएको उक्त प्रशिक्षणमा १५ जना छात्र र १५ जना छात्रा गरी कुल ३० जनाको सहभागिता रहेको छ ।

यूवा ह्याण्डबल खेलाडी उत्पादन गर्ने उद्धेश्यका साथ सुरू भएको प्रशिक्षणको एक कार्यक्रमका बीच जिल्ला खेलकुद विकास समितिकी उपाध्यक्ष कल्पना श्रेष्ठले उद्घाटन गरिन् । सो अवसरमा उपाध्यक्ष श्रेष्ठले प्रशिक्षण फलदायी हुने विश्वास व्यक्त गर्दै ह्याडबलको विगतको शाख जोगाउन महत्वपूर्ण हुने बताइन् ।
प्रशिक्षणमा सहभागिहरुलाई जिल्ला ह्याण्डबल बागलुङका अध्यक्ष एवं ह्याण्डबल प्रशिक्षण उमेशराज भण्डारीले प्रशिक्षण दिने तय भएको छ ।
गण्डकी प्रदेशमा यूवा खेलाडी उत्पादन गर्ने उद्धेश्यका साथ सुरू गरिएको उक्त प्रशिक्षण यहि जेठ १० गतेबाट पर्वतको कुश्मामा समेत आयोजना हुने छ ।
