
पोखरा स्पोर्टस । गण्डकी प्रदेश अन्तर्गत सुरू भएको पुरुष यू१६ क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको लिग चरणको रोमाञ्चक खेलमा कास्की यू१६ टोलीले बागलुङ यू१६ माथि ३८ रनको शानदार जित हासिल गरेको छ ।

पोखरा रंगशालामा सम्पन्न २२ ओभरको यस खेलमा कास्कीले पहिला ब्याटिङ गर्दै २१.४ ओभरमा सबै विकेट गुमाउँदै १३७ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो । कास्कीका लागि सुरज अधिकारीले सबैभन्दा बढी ५३ रन बनाए भने अनिश राउतले १४ र अनिकेत गजुरेलले १५ रनको योगदान दिए ।
बागलुङका बलरहरू मध्ये कृश केसीले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए । त्यस्तै प्रिन्स शर्मा र रामित कंडेलले २–२ विकेट हात पार्दा सम्राट शर्मा र जित बहादुर बिकले १–१ विकेट लिए ।
१३८ रनको लक्ष्य लिएर मैदानमा ओर्लिएको बागलुङ टोली २१.४ ओभरमै ९९ रनमा समेटियो । बागलुङका लागि कप्तान आर्य प्रसिद्ध नेपालले १७ रन बनाए भने रामित कंडेलले आक्रामक १७ रन (९ बलमा) बनाए पनि टोलीलाई जितसम्म पुर्याउन सकेनन् ।
कास्कीका अनिश राउतले ३ विकेट लिँदै उत्कृष्ट बलिङ प्रदर्शन गरे । साथै, राज परियार र रिदम पाण्डेले २–२ विकेट लिए । मोहम्मद साहबुदिन, बिमोचन सापकोटा र सत्कार चालिसेले पनि समान १–१ विकेट लिए ।
यस जितसँगै कास्कीले प्रतियोगितामा महत्वपूर्ण दुई अंक जोडेको छ ।
यस अघि प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले गरेका थिए । कमलपोखरी बचत तथा ऋण सहकारी संस्था पोखरा १३ ले समाजिक उत्तर दायित्व अन्तर्गत कास्की जिल्ला क्रिकेट संघको अण्डर १६ टोलिका खेलाडीहरुलाइ ल्यापटप व्याग एवं टोपी हस्तान्तरण गरेको अध्यक्ष सञ्जयकान्त सिग्देलले जनाएका छन् ।
