गोरखा जिल्लामा आयोजना हुँदै राष्ट्रपति कप, भव्य बनाउन तयारी तीव्र

पोखरा स्पोर्टस । गण्डकी प्रदेशमा यस वर्षको प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गोरखा जिल्लामा आयोजना हुने भएको छ । गण्डकी प्रदेश खेलकुद परिषद्को आज .मंगलबार) सम्पन्न बैठकले प्रतियोगिता सम्बन्धी विभिन्न निर्णयहरू गर्दै आयोजनालाई व्यवस्थित र भव्य बनाउन तयारी तीव्र पारिएको जनाएको हो ।

जिल्ला स्तरीय राष्ट्रपति कप गोरखा, तनहुँ, नवलपुर, म्याग्दी, बाग्लुङ, पर्वत र लमजुङ जिल्लाहरुले सम्पन्न गरिसकेको र बाँकी रहेका कास्की र स्याङ्जा जिल्लालाई जेठ १२ गतेसम्म प्रतियोगिता सम्पन्न गरी, छनोट भएका खेलाडीहरूको विवरण जेठ १५ गतेभित्र परिषदमा पेश गर्न निर्देशन दिइएको छ ।

विद्यालय तहबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले शुरु गरिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अब गण्डकी प्रदेशका सबै जिल्लामा आलोपालो आयोजना गरिने भएको छ । गत वर्ष नवलपुर जिल्लाबाट शुरु गरिएको यो परम्परा यस वर्ष गोरखा जिल्लामा जेठ १७ देखि २४ गतेसम्म सञ्चालन गरिनेछ । प्रतियोगिताको व्यवस्थापन गोरखा जिल्ला खेलकुद विकास समितिले गर्नेछ ।

यस वर्ष संघीय सरकारको वार्षिक बजेट तथा कार्यक्रममा प्रतियोगिताका लागि आवश्यक ६५ लाख रुपैयाँ बजेट विनियोजन नभएको भन्दै परिषद्ले गुनासो गरेको छ । प्रदेश सरकारले विनियोजन गरेको ३० लाख रुपैयाँ मात्र अपुग हुने देखिएकोले, परिषदले आन्तरिक शीर्षकअन्तर्गतको बजेटबाट थप रकम संबन्धित मन्त्रालयको लिखित सहमति सहित खर्च गर्ने निर्णय गरेको परिषदका सदस्य सचिब श्रीधर शर्माले जनाएका छन् ।

उनले भने–“यो वर्ष हामीलाई राष्ट्रपति कप सम्पन्न गर्न सकश परेको छ । नत प्रदेशमा नत जिल्ला र पालिकामा संघिय सरकारको नियमित बजेट आयो । यसले खेलाडी उत्पादनको मुख्य आधार क्षेत्र कमजोर बन्नेछ ।” गण्डकी प्रदेशमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बालबालिकाको खेलकुद प्रतिभा विकास तथा प्रतिस्पर्धात्मक क्षमताको वृद्धि गर्ने प्रमुख अवसरका रूपमा स्थापित हुँदै गएकोले पनि परिषदले आफ्नो आन्तरिक तयारीलाई तिव्रता दिएको सदस्य सचिब शर्माको भनाई छ ।

साथै प्रतियोगिता मर्यादित, व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्नका लागि गोरखा जिल्लाका मातहत तीनै सुरक्षा निकायहरूसँग समन्वय गर्न पत्राचार गर्ने निर्णय गरिएको सदस्य सचिब शर्माले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close