
पोखरा स्पोर्टस । तनहुँको दमोलीमा टेनिस पूर्वाद्धार बनाउने स्थानियहरुले सक्रियता देखाएका छन् ।
व्यास नगर पालिका कार्यालयले टेनिस पूर्वाद्धार निर्माणका लागि जग्गा उपलव्ध गराए संगै स्थानियहरुले सक्रियता देखाएका हुन् । यसै क्रममा जिल्ला खेलकुद विकास समिति तनहुँका प्रतिनिधिसहित स्थानिय खेलप्रेमी तथा व्यवसायीहरुले पोखरा रंगशालास्थित टेनिस कम्पलेक्स अवलोकन भ्रमण गरी पूर्वाद्धार तयार गर्नु पूर्वका विषयहरुलमा जानकारी लिएका छन् ।
ब्यास नगर पालिकाले वडा नं १ स्थित भादगाँउ विज्ञान चौरमा ५ रोपनी जग्गा उपलब्ध गराएको छ । नगर पालिकाले जग्गा उपलव्ध गराए संगै कास्की जिल्ला बाहिर टेनिसको पूर्वाद्धार निर्माणका लागि पहिलो पटक सक्रियता बढेको हो ।
पोखरा रंगशाला टेनिस कोर्टमा आएको टोलीलाई स्वागत गर्दै गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष विनोद कायस्थले संघको उद्धेश्य अनुरुप तनहुँले लिएको सक्रियताका लागि आभार व्यक्त गरे । उनले भने–“यहाँहरुले लिनु भएको पहल र सक्रियताले हामीलाई उत्साहित बनाएको छ । हामीले पनि रंगशालामा पूवाद्धार निर्माण गर्दा यसरीनै सामुहिक भावानाले गरेका थियौं । जसका कारण यसले वृहद् रुप लिएको हो ।”
विश्वमा नै टेनिस खेल सर्वाधिक लोकप्रिय खेल रहेको जनाउँदै अध्यक्ष कायस्थले गण्डकी प्रदेश टेनिस संघले गण्डकी प्रदेशका सबै जिल्लामा यसरी नै टेनिसका पूर्वाद्धार तयार गर्ने लक्ष्य लिएको उल्लेख गरे ।
तनहुँ दमोली निवासी बृटिश वेलफेयरमा निर्देशक पदमा कार्यरत दिपक श्रेष्ठले ब्यास नगर पालिकाले जग्गा उपलब्ध गराएर टेनिस खेलको विकासमा महत्वपूर्ण कार्य गरेको जनाउँदै अब दमौलीमा समेत टेनिस कोर्ट निर्माण गरी यूवा खेलाडी उत्पादन गर्नेतर्फ अघि बढ्ने बताए । उनले भने–“हामी सबै एउटै सोचका साथ अघि बढ्यौं भने पक्कै हामीले अघि बढाएको योजनाले मूर्तरुप लिन्छ । हामीले समाजमा नयाँ सन्देश दिने गरी अघि बढ्नु पर्छ ।”
जिल्ला खेलकुद विकास समितिका सचिब विश्व बुढा, जिल्ला खेलकुदका कोषाध्यक्ष एवं तनहुँ चेम्बर अफ कमर्स वरिष्ठ उपाध्यक्ष कवीराज श्रेष्ठ, व्यास नगर पालिका वडा नं २ का सदस्य सुरेश वाग्ले, तनहुँ उद्योग वाणिज्य संघका द्वितिय उपाध्यक्ष कुमार मल्ल, यामहा शोरुमका डाइरेक्टर ओमराज श्रेष्ठलगायतको टोलीले पोखरा रंगशालास्थित टेनिस कम्लेक्सको अवलोकन भ्रमण गरी जानकारी लिएको हो ।
सो अवसरमा गण्डकी टेनिसका उपाध्यक्ष द्वय लोक बहादुर गुरूङ र विष्णु बहादुर थापा, महासचिब नविन चालिसेलगायतले टोलीलाई स्वागत गर्दै पूर्वाद्धार निर्माण का सबै पक्ष बारे जानकारी गराएका थिए ।
