
पोखरा स्पोर्टस । नेपाल ब्याडमिन्टन संघको संयोजकमा मनोनयन भएका सुभाष श्रेष्ठले पत्र बुझेका छन् ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)को गत चैत्र २९ गते बसेको १२२औं बोर्ड बैठकले उनलाई संयोजकमा मनोनयन गरेको थियो । लामो समय देखि निर्वाचन हुन नसकी तदर्थमा रहेको रामजी बहादुर श्रेष्ठ नेतृत्वको कार्यसमिति विघटन गरी राखेपले उनलाई संयोजकको जिम्मेवारी दिएको हो ।
राखेपका संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्र कुमार राईले सो पत्र सोमबार हस्तान्तरण गरे ।
राखेपले संयोजकमा सुभाष श्रेष्ठसहित ४१ सदस्यिय कार्यसमिति चयन गरेको जनाइएको छ ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा २९ को उपदफा ४ बमोजिम राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को नियम ७ बमोजिम क्रियाशिल जिल्ला तथा प्रदेश संघहरुको भेला बोलाई ३ महिना भित्र निर्वाचन सम्पन्न गरी संघलाई पूर्णता दिन समेत राखेपको पत्रमा उल्लेख छ ।
मनोनयन भएका संयोजक श्रेष्ठ यस अघि राखेपको बोर्ड सदस्य थिए भने नेपाल ब्याडमिन्टन संघमा उपाध्यक्ष समेत भएर योगदान दिएका थिए ।
