
पोखरा स्पोर्टस । धाविका सन्तोषी श्रेष्ठले म्याराथनमा नयाँ राष्ट्रिय कृतिमान बनाउन सफल भएकी छन् ।
विश्वकै चर्चित म्याराथन मध्येको एक लण्डन म्याराथनमा २ः४२ः५० मिनेटमा दौड पुरा गरी नयाँ कृतिमान कायम गरेकी हुन् । उनले यस अघि जनवरी २०२४ मा बंगलादेशको ढाकामा सम्पन्न बङ्गाबन्धु शेख मुजिबुर ढाका म्याराथनमा २ः४६ः२६ समयमा दौड पूरा गरी आफ्नो पहिलो म्याराथनमा राष्ट्रिय रेकर्ड कायम गरेकी थिइन् ।
२०२४ पेरिस ओलम्पिकमा समेत सन्तोषीले नेपालका लागि महिला म्याराथनमा प्रतिनिधित्व गर्दै उनले २ः५५ः०६ समयमा दौड पूरा गर्दै ७९औँ स्थान हासिल गरेकी थिइन् ।
२०१९ दक्षिण एशियाली खेलकुदमा सन्तोषीले १० हजार मिटर दौडमा १० मिलिसेकेन्डको निकै कम फरकले स्वर्ण पदक जित्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा एथलेटिक्सतर्फ स्वर्ण जित्ने पहिलो नेपाली महिला बन्न सफल भएकी थिइन् ।
त्यस्तै उनले मार्च २०२३ मा नेदरल्याण्ड्सको भेन्लोमा आयोजित हाफ म्याराथनमा १ः१६ः४४ समयमा दौड पूरा गर्दै राष्ट्रिय रेकर्ड बनाएकी थिइन् ।
सन्तोषीले गत फागुनको पहिलो साता सम्पन्न १९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत हाफ म्याराथनतर्फ १ घन्टा २० मिनेट ०३ सेकेण्डमा दौड पुरा गर्दै च्याम्पियन भएकी थिइन् ।
