
पोखरा स्पोर्टस । पोखरामा सम्पन्न चौथो मनुश्री भिग्नाजीत जुनियर राष्ट्रिय टेनिस प्रतियोगितामा पोखराका दर्शिल श्रेष्ठ र काठमाण्डौकी सारा पन्तले समान दुई स्वर्ण जितेका छन् । दर्शिलले १६ वर्ष मुनिको ब्वाइज सिंगल्स र ब्वाइज डबल्सतर्फको उपाधी जित्दा साराले गर्ल्स यु–१४ र यु–१२ दुवै इभेण्टमा उपाधि जितिन् ।
कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको पोखरा रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा असव सम्राट हाडालाई ६–१, ६–४ को सोझो सेटमा पराजित गर्दै दर्शिलले सिंगल्सतर्फको उपाधी जिते । दर्शिलले ब्वाइज डबल्सतर्फ सिर्जन भट्टराईसँगको पार्टनरसिपमा फाइनल खेलमा प्रफुल्ल श्रेष्ठ र स्पन्दन उदासको जोडीलाई प्रतिस्पर्धात्मक खेलमा ६–०, ५–७ र १०–४ ले पराजित गर्दै उपाधि कब्जा गरे ।
साराले १४ वर्ष मुनि गर्ल्स सिंगल्समा आर्य पौडेलसँगको अन्तिम भेटमा ६–१, ६–४ को नतिजा निकालिन । उनले १२ वर्ष मुनिको सिंगल्स फाइनलमा स्वरा थापालाई ६–२, ६–३ ले पराजित गर्दै दोहोरो जित निकालेकी हुन् । १४ वर्ष मुनिको ब्वाइज सिंगल्सतर्फ साङ्गे रोकायाले आसव सम्राट हाडालाई ६–४, ३–६ र १४–१२ ले पराजित गर्दै प्रथम हुन सफल भए । १२ वर्षमुनीको ब्वाइइज सिङ्गल्समा आरित मल्लले आर्यश राज पौडेललाई प्रतिस्पर्धात्मक खेलमा ३–६,७,–६ र १०–४ ले पराजित गर्दै प्रथम स्थान हासिल गरे ।
१६ वर्ष सिंगल्सतर्फ बिजेताले नगद १५ हजार तथा उप–विजेताले नगद ७ हजार ५ सय सहित मेडल प्राप्त गरे । त्यस्तै, १४ वर्ष सिंगलतर्फ बिजेताले नगद १० हजार तथा उप–विजेताले नगद ५ सहित मेडल प्राप्त गरे । १२ वर्ष सिंगल्सतर्फ बिजेताले नगद ८ हजार तथा उप–विजेताले नगद ४ सहित मेडल प्राप्त गरेका छन् । ८, ९ र १० वर्ष मुनि ब्वाइज तथा गर्ल्स सिंगल्स बिजेता तथा उपबिजेताले गिफ्ट ह्याम्पर तथा मेडल प्राप्त गरे ।
विजयी खेलाडीहरुलाई प्रतियोगिताका मुख्य प्रायोजक कुमार मोहनबहादुर शाही, उनका नाती भिग्नाजीत, नातिनी मनुश्री, प्रतियोगिता संयोजक एवं कास्की टेनिसका निवर्तमान अध्यक्ष लोक बहादुर गुरुङ्ग लगायतले नगदसहित मेडल, प्रमाण–पत्रले पुरस्कृत गरे ।
कास्की जिल्ला टेनिस संघका अध्यक्ष राजकुमार गुरुङको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण समारोहमा संघका सचिव भिष्मराज पौडेल र टुर्नामेण्ट डाइरेक्टर कुमार अधिकारीले समेत आफ्ना भनाई राख्दै यो पटकको प्रतिस्पर्धाहरु निकै रोमाञ्चक रहेको बताए ।
