
पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद (राखेप)का उपाध्यक्ष ध्रुव आाचार्यले पोखरा अन्तर्राष्ट्रिय म्याराथनको बजेट बढाउन सहयोग गर्ने बताएका छन् । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा आयोजित उनको बधाई तथा स्वागत कार्यक्रममा उपाध्यक्ष आचार्यले सो कुरा बताएका हुन् ।

नेपाली खेलकुदमा अग्रज खेलाडीहरुको भूमिका महत्वपूर्ण रहेको जनाउँदै आर्थिक कै कारण अल्झिएर बस्न नपर्ने उनले बताए । उनले भने–“पोखरा अन्तर्राष्ट्रिय म्याराथन खेल जगतमा निकै चर्चा हुने कार्यक्रम मध्ये एक हो । नेपाल कै पहिलो जेठो म्याराथन अब बजेटको अभावमा रुमलिन हुँदैन । म राखेप र नेपाल सरकारलाई बजेट बढाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्छु ।”
नेपाली खेलकुदको गतिका लागि भूतपूर्व खेलाडी मञ्चको भूमिका महत्वपूर्ण रहेको जनाउँदै उपाध्यक्ष आचार्यले नेपाली खेलकुदमा उनीहरुले दिएको योगदान अवस्मिरणिय रहेको जनाउँदै अग्रज खेलाडीहरुबाट समेत यूवा पुस्ताले आफ्नो खेल जिवनमा परिवर्तन ल्याउन सक्ने बताए । “यहाँहरुको योगदान ठूलो छ । चाहे राष्ट्रियस्तरमा होस वा अन्तर्राष्ट्रिय ऐरिनामा नेपाली झण्डा फहराउने सन्दर्भमा,” उनले थपे–“यहाँहरुको योगदान नेपाली यूवा पुस्ताका लागि समेत नयाँ पाठ बन्न सक्छ ।”
नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिल बहादुर गुरूङले नेपाली खेलकुदका लागि यूवा पुस्ताको नेतृत्व आवश्यक रहेको औंल्याउँदै राखेपमा नवनियुक्त उपाध्यक्षबाट धेरै नै आशा गरेको बताए । उनले भने –“हामी खेलकुदमा यूवा पूस्ताको नेतृत्वको खोजीमा छौं । यहाँको कार्यकालमा नेपाली खेलकुदले नयाँ बाटो कोर्न सफल हुने छ ।” उनले नवनियुक्त उपाध्यक्ष आचार्यलाई मञ्चको तर्फबाट सफल कार्यकालको शुभकामना समेत दिए ।
सो अवसरमा मञ्चका निवर्तमान अध्यक्ष हरिप्रसाद पराजुलीले मञ्चका गतिविधि बारे प्रकाश पार्दै मञ्चले २० औं संस्करणको पोखरा म्याराथन संगै संस्थाको रजत वर्ष महोत्सवको तयारी सुरू गरेको जानकारी दिए ।
कार्यक्रममा मञ्चका पूर्व अध्यक्ष तेज बहादुर गुरूङ, राखेपका कार्यकारी सदस्य सूवर्ण श्रेष्ठ, राखेप सदस्य नन्दा बस्याललगायतको सहभागिता रहेको थियो ।
