
पोखरा स्पोर्टस । अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघ (आइएचएफ)ले नेपाल ह्याण्डबल महासंघको अन्तरिम समितिको जिम्मेवारी तेज बहादुर गुरूङलाई सुम्पिएको छ ।
महासंघले नेपाल ओलम्पिक कमिटिलाई गरेको पत्राचारमा यस अघि कुशुम श्रेष्ठको संयोजकत्वमा गठित निर्वाचन समिति भङ्ग गर्दै गुरूङलाई अन्तरिम समितिको जिम्मेवारी सुम्पिएको जनाइएको हो । नेपाल ओलम्पिक कमिटिका कार्यकारी सचिब सुजनलाल श्रेष्ठले पोखरा स्पोर्टसलाई पत्र बारे जानकारी दिंदै अब चाँडै नै नेपाली ह्याण्डबलको समस्या समाधान उन्मुख हुने जनाए ।
महासंघका अध्यक्ष डा.हसन मुस्तौफा द्वारा हस्ताक्षरित पत्रमा भनिएको छ–“आइएचएफले आफ्नो विधानको धारा ९.३ बमोजिम नयाँ अन्तरिम समिति गठन गर्ने निर्णय गरेको छ । जसले आगामी निर्वाचनसम्म नेपाल ह्यान्डबल संघको व्यवस्थापन तथा निर्वाचन तयारी कार्यभार सम्हाल्नेछ ।”
यहि २०८२ बैशाख १६ गते सम्म नयाँ अन्तरिम समितिमा रहने प्रतिनिधिको नाम समेत पठाउन पत्रमा उल्लेख छ । आइएचएफले गुरूङको संयोजकत्वमा ५ सदस्यिय अन्तरिम समिति गठन गर्न पत्रमा उल्लेख छ । जसमा प्रदेश खेलकुद परिषदबाट स्विकृती पाएका प्रदेश ह्याण्डबल संघका दुई जना सक्रिय अध्यक्षहरु, राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटिबाट १–१ जना प्रतिनिधिको नाम पठाउन भनेको छ ।
२०८२ असार १ गते भित्र नेपाल ह्याण्डबल संघको निर्वाचन सम्पन्न गर्ने गरी गठन गरिएको अन्तरिम समितिलाई सम्पूर्ण प्राविधिक, वित्तीय, र प्रशासनिक कार्यहरू तुरुन्तै सम्हाल्न पूर्ण जिम्मेवारी समेत तोकिएको छ । जसमा संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधिहरू सञ्चालन गर्ने, एक विशेष साधारण सभा आह्वान गर्ने, आइएचएफ द्वारा स्वीकृत विधानको अनुमोदन, अनुमोदित विधानको अन्तिम प्रति प्रत्येक पृष्ठमा हस्ताक्षरसहित पठाउने, नयाँ कार्यसमिति चयनका लागि निर्वाचन साधारण सभा आह्वान गर्ने रहेका छन् ।
यसका साथै निर्वाचन प्रक्रिया निगरानी गर्न आइएचएफ द्वारा निरपेक्ष निर्वाचन समिति गठन गर्ने पत्रमा जनाइएको छ । जसले निर्वाचन साधारण सभा आह्वान प्रक्रिया गर्दा उम्मेदवारहरूको विधानअनुसारको योग्यता परीक्षण गर्नेछ भने समितिको कार्यक्षेत्र विधानको अन्तिम स्वीकृति पछि अन्तरिम समितिलाई जानकारी दिनेछ ।
२०८१ चैत ९ गतेका दिन काठमाडौंमा स्थागित नेपाल ह्यान्डबल संघको साधारण सभाको सन्दर्भ बारे उल्लेख गर्दै सो निर्वाचन अन्तर्राष्ट्रिय ह्यान्डबल महासंघ र एशियन ह्यान्डबल महासंघका प्रतिनिधिका रूपमा मुहम्मद शफीकद्वारा अनुगमन गरिएको पत्रमा जनाइएको छ ।
२०८१ चैत ९ गतेका दिन काठमाडौंमा स्थागित निर्वाचन बारे महासंघले आफ्नो प्रतिवेदनमा सो निर्वाचनको क्रममा विभिन्न समस्या देखापरेको र करिब दुई–तिहाइ साधारण सभा सदस्यहरूले निर्वाचन प्रक्रियामा देखिएको त्रुटिहरूको विरोधमा लिखित रूपमा गुनासो गरेका जनाएको छ । साथै, विभिन्न प्रदेश र जिल्लाबाट आएका प्रतिनिधिहरूको वैधानिकतामाथि पनि शंका व्यक्त गर्दै त्यसको परिणामस्वरूप, नेपाल ह्यान्डबल संघको कार्यसमितिको निर्वाचन सम्पन्न हुन नसकेको स्पष्ट जनाएको छ ।
महासंघले प्रतिवेदनमा संघको सुशासन, निर्वाचनको पारदर्शिता, र बाह्य प्रभावको सम्भावनाका विषयमा गम्भीर चिन्ता समेत व्यक्त गरेको जनाएको छ । पत्रमा भनिएको छ–“यसै सन्दर्भमा, हामी तपाईंलाई सूचित गर्न चाहन्छौं कि वर्तमान अन्तरिम समिति जसको अध्यक्षता श्रीमती कुसुम कुमारी श्रेष्ठले गर्नु भएको र सो समिति ३ अप्रिल २०२४ मा आइएचएएफद्वारा नियुक्त गरिएको थियो । सो समितिलाई हालको जिम्मेवारीबाट मुक्त गरिएको छ।”
तर यता राखेपको हालै सम्पन्न १२२ औं बोर्ड बैठकले रामकृष्ण केसीको संयोजकत्वमा एक समिति गठन गरेको छ । जुन समितिलाई अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघले मान्यता नदिने स्पष्ट रहेको छ ।
