केपी ओली कप टि२० क्रिकेट : अत्तरिया र मालपोखरीको जित, अत्तरिया शीर्षस्थानमा

पोखरा स्पोर्टस । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरामा जारी केपी ओली कप राष्ट्रिय टि२० पुरूष क्रिकेटमा अत्तरिया क्रिकेट एकेडेमी र मालपोखरी क्रिकेट क्लबले आ–आफ्नो खेलमा जित निकालेका छन् ।

पोखरा क्रिकेट मैदानमा मंगलबार सम्पन्न केपी ओली कप नेशनल ओपन टी–२० क्रिकेट टुर्नामेन्ट २०२५ अन्तर्गत समुह डि को दोस्रो दिनको लिगमा अत्तरिया क्रिकेट एकेडेमीले होराइजन क्रिकेट क्लबलाई ४ विकेटले पराजित गर्दै शानदार जित हात पारेको छ । सो खेलमा शानदार प्रदर्शन गरेका अत्तरियाका टेक रावतलाई प्लेयर अफ द म्याच घोषित गरिएको छ ।

समुह डिमा आफ्ना दुबै खेल जित्दै अत्तरिया ४ अंकका साथ शिर्ष स्थानमा रहँदा दुई खेलमा १ जित १ हार सहित २ अंक रहेको होराइजन रन रेटको आधारमा दोस्रो स्थानमा तथा मालपोखरी तेस्रो स्थानमा रहेको छ । सुन्दर हरैचा २ खेलमा २ हारसहित तालिकाको पुछारमा रहेको छ ।

अत्तरियाले टस जितेर पहिले फिल्डिङ रोजेको थियो र उनीहरूको बलिङ आक्रमणले निर्णयलाई सही ठहर गर्दै होराइजनलाई १९.१ ओभरमा १४० रनमै समेट्यो ।

होराइजनको सुरुवात निकै कमजोर रह्यो—शीर्ष तीन ब्याट्सम्यान जम्मा १ रनमै पवेलियन फर्किए । तर कमल बिष्टले ४६ बलमा ३९ रन र बिपरशन केसीले १५ बलमा नटआउट ३५ रन बनाएर टिमलाई चुनौतीपूर्ण योगफलमा पु¥याए । नरबहादुर सर्कीले पनि १३ बलमा २७ रनको तिब्र योगदान दिए । अत्तरियाका लागि बसन्त खत्रीले ३ विकेट लिए भने भोेजराज भट्ट र सुसिल सर्कीले २–२ विकेट लिए ।

१४१ रनको लक्ष्य पछ्याउन ओर्लिएको अत्तरियाले सुरुवातमा केही विकेट गुमाए पनि, टेक रावतले ४२ बलमा ९ चौका र १ छक्का सहित नटआउट ६१ रन बनाउँदै इनिङलाई सम्हाले । बिपिन रावल (१७ बलमा २६ रन) र हिक्मत महर (८ बलमा नटआउट १३ रन) ले सहयोग गरे। अत्तरियाले १८.२ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो ।

यो जितसँगै अत्तरिया क्रिकेट एकेडेमीले टुर्नामेन्टको नकआउट चरणमा आफ्नो सम्भावना बलियो बनाएको छ ।

अर्को रोमाञ्चक खेलमा मालपोखरी क्रिकेट क्लबले सुन्दर हरैचा क्रिकेट क्लबलाई ४ विकेटले पराजित गर्दै महत्वपूर्ण जित हासिल गरेको छ । उत्कृष्ट प्रदर्शन गरेका विजय गुप्तालाई प्लेयर अफ द म्याच घोषित गरियो ।

टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको सुन्दर हरैचा क्लबले २० ओभरमा १० विकेट गुमाएर १२८ रन बनायो । सुरुवाती ब्याट्सम्यानहरू नियमित अन्तरालमा आउट भइरहँदा टोली दबाबमा परेको थियो । समीर कार्कीले ३१ रन (१९ बलमा २ चौका, ३ छक्का) बनाएर इनिङ सम्हाल्ने प्रयास गरे भने मृणाल गुरुङ (१९ रन) र रुपक बराल (१७ रन) ले केही योगदान दिए । बलिङतर्फ मालपोखरीका लागि सिराज हुसेन र जितेश मण्डल ले दुई–दुई विकेट लिए । जसमा तीन रनआउटहरू पनि महत्वपूर्ण सावित भए ।

१२९ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको मालपोखरी क्रिकेट क्लबले केही कठिनाइका बाबजुद १७.३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो । विजय गुप्ताले शानदार ब्याटिङ गर्दै ४६ बलमा ८ चौका र २ छक्कासहित ५९ रन बनाए । रणवीर यादवले ११ बलमा १४ रन जोड्दै महत्वपूर्ण योगदान दिए । अन्तिमतिर आशीष सिग्देल र चन्दन यादवले खेललाई सुरक्षित रूपमा अवतरण गरी जित दर्ता गराए ।

प्रतियोगिता अन्तरगत समूह चरणको अन्तिम खेलमा भोलि समूह डी कै खेल हुनेछन् । पहिलो खेलमा होराइजन र सुन्दर हरैचाको सामना गर्ने छ भने अत्तरियाले मालपोखरीको सामना गर्नेछ । समूहको शीर्ष टोली अन्तिम चारमा पुुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close