‘हाउरो हाइसो’ जसले आधुनिक भलिबलको पाठ सिकाए,  पोखरामा स्वागत

पोखरा स्पोर्टस । नेपाली भलिबलका पूर्व प्रशिक्षक हाउरो हाइसीलाई पोखरामा स्वागत गरिएको छ । केही दिनका लागि पोखरा भ्रमणमा आएका उनलाई टाइगर ग्रुप अफ पोखरा नेपालले स्वागत गरेको हो । अध्यक्ष नारायण प्रसाद शर्मा, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरूङ, टाइगर ग्रुपका उपाध्यक्ष देवेन्द्र केसी, सचिव डिबी नेपाली, कोषाध्यक्ष हरि कुमार श्रेष्ठ, नेपाली महिला भलिबलकी टिम कप्तान अरुणा शाहीले उनलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

को हुन प्रशिक्षक हाउरो हाइसी
जापानी प्रशिक्षक हाउरो २०३१ सालमा नेपाली भलिबल टिमलाई प्रशिक्षण दिन पहिलो पटक नेपाल आएका थिए । तत्कालिन जापानिज ओभरसिज भेलिन्टियरको माध्यमबाट नेपाल आउँदा उनी २६ वर्षका थिए । आफ्नो विश्वविद्यालयको उत्कृष्ट खेलाडीको रुपमा रहेका हाउरो नेपाली भलिबल खेललाई आधुनिकता दिने प्रशिक्षकको रुपमा पहिचान बनाएका छन् । २०३१ देखि २०३३ सम्म (करिव २ वर्ष ४ महिना) प्रशिक्षण दिएका उनले त्यस पछि नेपाली भलिबलले पछि फर्किएर हेर्नु परेको छैन ।

५० वर्ष पछि नेपाल आएका हाउरोले तत्कालिन समयमा नेपाली टिमका रेशम गुरूङ, कपिल किशोर श्रेष्ठ, महेन्द्रलाल श्रेष्ठ, जयनारायण चौधरी, ऋषी शर्मा, महाप्रसाद कोइराला, विजय विक्रम खड्का, राकेश श्रीवास्तव, सागर थपलिया, दिपक खरेल, लक्ष्मीनारायण श्रेष्ठ, कुमार केसी र पछिल्लो समयमा दिपक सापकोटालाई प्रशिक्षण गराएका थिए । उनको प्रशिक्षण लगतै २०३३ सालमा नेपाली टिमले पहिलो पटक पाकिस्तान आयोजित एक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको पूर्व राष्ट्रिय खेलाडी रेशम गुरूङले पोखरा स्पोर्टसलाई बताए । हाल गुरूङ नेपाल भलिबल संघको सल्लाहकार छन् ।

हाउरोको प्रशिक्षण बारे कुरा गर्दै गुरूङले भने–“उनको आगमनको बेला नेपाली भलिबल भर्खरै तङ्गरिंदै थियो । सिमित खेलाडी थिए । तर उनको प्रशिक्षणमा थुपै्र विशेषता थिए । हरेक खेलाडीहरु संग सामिप्यता राख्ने संगै खेलाडीहरुको कमजोरी र सुधारका विषयमा विशेष ध्यान दिन्थे । किनभने उनी जापानको विश्वविद्यालयमा एक उत्कृष्ट खेलाडी थिए ।” हाउरोको प्रशिक्षण पछि नै नेपाली भलिबलले गति लिएको बताउँदै उनले भने–“अहिले नेपाली भलिबल राष्ट्रिय खेलको रुपमा स्थापित भएको छ । ५० वर्ष अघि नेपाली भलिबललाई आधुनिक भलिबलको जग हालेकै कारण राष्ट्रिय खेलको रुपमा स्थापित गर्न हाउरोको महत्वपूर्ण योगदान छ ।”

यसै बीच नेपाल भलिबल संघले पूर्व प्रशिक्षक हाउरोलाई एनभिए अवार्डमा ‘नेपाली भलिबलका महान गुरू’ को रुपमा सम्मान समेत गरेको छ । जापानमा रहेर स्वयंसेवी प्रशिक्षकको रुपमा नेपाली भलिबल खेललाई यो ठाउँ सम्म ल्याइ पुर्याउन हाउरोको योगदान नेपाली भलिबलले सदिंयौ सम्म सम्झिरहने टाइगर ग्रुपका अध्यक्ष एवं नेपाल भलिबल संघका सल्लाहकार नारायण प्रसाद शर्माले बताए । उनले भने–“उहाँ यति बेला पोखरा आउनु भएको छ । हामी उहाँको पोखरा भ्रमणलाई स्मरणिय बनाउने प्रयासमा छौं ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close