प्रतिभावान भलिबल खेलाडी खोज्न ‘एलिट भलिबल कप’ पोखरामा सुरू

पोखरा स्पोर्टस । पोखरामा प्रतिभावान भलिबल खेलाडी खोजीका लागि आयोजित ‘एलिट भलिबल कप’ सुरू भएको छ । एलिट भलिबल एकेडेमी पोखराको आयोजनामा पोखरा–३ नदिपुरमा उक्त प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङले गरे ।

पहिलो दिन पुरुषतर्फ आयोजक एलिट एकेडेमी र महिलातर्फ पिएन क्याम्पसको टोली विजयी भए । एलिट एकेडेमीले श्रीकृष्ण दल गणलाई ३–२ को सेटले पराजित गर्न सफल भयो । महिलातर्फ महेन्द्र माध्यमिक विद्यालयको टोलीलाई ३–० को सोझो सेटमा पराजित गर्दै पिएन क्याम्पस सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगितामा पुरुषतर्फ पहिलो स्थान हासिल गर्ने टोलीले एक लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो स्थान प्राप्त गर्ने टोलीले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।

यसैगरी महिलातर्फ पहिलो स्थान प्राप्त गर्ने टोलीले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो स्थान प्राप्त गर्ने टोलीलाई २५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

यस प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई विशेष पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिताबाट बचत भएको रकमबाट सम्भावना बोकेका दुई महिला खेलाडीको कक्षा ११ र १२ को पठनपाठनको खर्च उपलब्ध गराइने प्रतियोगिताकी संयोजक एवम् राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले जानकारी दिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close