
पोखरा स्पोर्टस । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने भनिएको दशौं राष्ट्रिय खेलकुद अन्ततः स्थागित भएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)को शुक्रबार सम्पन्न १२२ औं बोर्ड बैठकले आगामी २०८२ जेठ ३ गते देखि १० गते सम्म तय भएको प्रतियोगिता अर्को मिति घोषणा नहुन्जेल सम्मका लागि स्थगित भएको हो ।
बैठकमा सहभागि प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्माका अनुसार राखेपका उपाध्यक्ष एवं दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अनुगमन समितिका संयोजक ध्रुब आचार्यले समितिको निर्णयहरु बारे जानकारी दिंदै समितिले तयार पारेको प्रतिवेदन प्रस्तुत गरे संगै प्रतियोगिता स्थागित हुने निर्णय भएको बताए ।
अनुगमन समितिले दिएका आधार र कारणहरु
– कुन खेल कहाँ गर्ने भन्ने बारे स्थानहरु एकिन हुन नसकेको ।
–खेलाडी छनौट प्रक्रिया अघि नवढेको ।
–खेलकुदलाई आवश्यक मापदण्डका पूर्वाधार समेत तयार नभएको ।
–प्रतिकुल मौसम (जेठको अत्याधिक गर्मि)
–दशौं राष्ट्रिय खेलकुदका लागि धान्ने गरी विद्युत र खानेपानीको समस्या रहेको ।
–खेलाडी, निर्णायक र अफिसियलहरुको संख्या एकिन नभएको ।
–कर्णाली प्रदेश सरकार दशौंको तयारीमा आफैमा अन्यौल रहेको ।
–सरकारलले चालु आवमा २५ प्रतिशत खर्च कटौतीका लागि पत्रचार गरेको ।
–अर्थ मन्त्रालयबाट समयमा रकम निकाशा नभएको ।
यसै गरी बैठकमा विभिन्न प्रदेश खेलकुद परिषदका सदस्य सचिवहरुको तर्फबाट प्रदेश खेलकुद परिषदका सदस्य सचिब शर्माले धारणा प्रस्तुत गर्दै दशौंको लागि सबै प्रदेशहरु तयार रहेको र प्रदेशहरुको कारण दशौं स्थागित भएको दोष दिन नहुने बताए । पोखरा स्पोर्टस संग कुरा गर्दै उनले भने–“हामी खेलाडीहरुको फर्म भर्ने देखि लिएर सबै विषयमा तयारी अवस्थामा नै थियौं । अब स्थागित भएको छ । यसको दोष हामीलाई दिन पाइने छैन ।”
सदस्य सचिब शर्माले दशौं राष्ट्रिय खेलकुद तोकिएकै मितिमा हुनु पर्ने जिकिर गर्दै उनले यसको सम्पूर्ण जिम्म खेलकुद मन्त्री, सदस्य सचिव र उपाध्यक्षले लिनु पर्ने आफ्नो तर्क बैठकमा अघि सारेको उनले जनाए । उनले भने–“आर्थिक अभाव वा अन्य कारणले प्रतियोगिता स्थागित भयो भन्ने जिम्मेवारी यहाँहरुले लिनु पर्छ । प्रदेश परिषदहरु यसको भागिदार बन्न सक्दैनन् ।” बैठकमा आफूले प्रस्तुत गरेको धारणा बारे उनले बताए ।
यसै गरी बोर्ड बैठकले विभिन्न निर्वाचन हुन नसकी खारेजीमा परेका ७ खेल संघहरुको समेत नेतृत्व तोकेको सदस्य सचिव शर्माले जानकारी दिए ।
सात खेल संघमा को–को भए संयोजक
![]()
नेपाल साइक्लिङ संघ–सुदिप पौडेल
नेपाल टेनिस संघ–मनोहर दाश मुल
नेपाल ह्याण्डबल संघ– रामकृष्ण केसी
नेपाल भारोत्तोलन संघ– कानन चौधरी
नेपाल जिम्न्याष्टिक संघ– ध्रुब बहादुर प्रधान
नेपाल व्याडमिन्टन संघ– सुभाष श्रेष्ठ
नेपाल एथलेटिक्स संघ–राजिव विक्रम शाह
यस अघि निर्वाचन गराउन नसकेका दुई खेल संघका अध्यक्षहरुलाई भने राखेपको बोर्ड बैठकले निरन्तरता दिएको छ । एथलेटिक्स र जिम्न्यष्टिक संघका अध्यक्ष द्वय शाह र प्रधानलाई निर्वाचन गराउन पुनः जिम्मेवारी दिएको हो ।
