पोखरा स्पोर्ट्स अवार्ड : उत्कृष्ट प्रशिक्षकमा टाइगर ग्रुपको निरन्तरता

पोखरा स्पोर्टस । भलिबलको विकास र सामाजिक क्षेत्रमा कृयाशिल संस्था टाइगर ग्रुप अफ पोखरा नेपालले नवौं पोखरा स्पोर्टस अवार्ड अन्तर्गत प्रदान गरिने उत्कृष्ट प्रशिक्षक अवार्डमा आफ्नो सहयोगलाई निरन्तरता दिएको छ ।

टाइगर ग्रुपले गत वर्ष समेत सोही अवार्डलाई सहयोग गरेको थियो । उक्त अवार्डको राशी नगद रु ५० हजार सहित ट्रफी र सम्मानपत्र रहेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै खेलकुदको क्षेत्रमा पदक ल्याउँदै योगदान दिने खेलाडी, प्रशिक्षक, सङ्घ संस्था, पत्रकार, खेलकर्मीलाई वर्षेनी सम्मान गर्दै आइरहेको छ ।

टाइगर ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्माले गण्डकी प्रदेशको खेलकुदलाई उचाइमा पुर्‍याउन स्पोर्ट्स अवार्डले महत्वपूर्ण योगदान दिएको बताउँदै खेलाडीलाई खेल खेलेपछि पाउने भनेकै सम्मान रहेको र यस्ता किसिमका अवार्डहरूले थप उर्जा मिल्ने उनको भनाई थियो ।

मञ्चका अध्यक्ष एमबी आस्था मगरले अवार्डलाई सम्पन्न गर्न टाइगर ग्रुपको साथ अमूल्य रहेको बताए । टाइगर ग्रुपले गर्दै आइरहेको टाइगर कपले अन्तर्राष्ट्रिय स्तरमै प्राप्त गरेको उचाईले यस क्षेत्रको भलिबललाई उकास्न थप मद्दत गरेको सुनाउँदै गण्डकी प्रदेश भित्र रहेका प्रतिभावान् खेलाडीसँगै प्रशिक्षक, खेल सङ्घ वा क्लब, खेलकर्मी तथा पत्रकारलाई समेत हौसला प्रदान गर्नका लागि अवार्ड प्रदान गर्दै आइरहेको जनाए ।

मञ्च यति बेला अवार्डको तयारीमा जुटिरहेको र आगामी दिनमा समेत दुई संस्थाबीचमा भाइचाराको सम्बन्ध बलियो बनाउँदै अघि बढ्ने उनको भनाई थियो ।

अवार्डका लागि सहारा क्लब पोखराले उदीयमान खेलाडी विद्या यस अघि नै प्रायोजन गरिसकेको छ भने अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले विशेष सहयोग रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close