केपि ओलि कप राष्ट्रिय टि२० क्रिकेट सुरू : स्याङ्जा र काठमाडौको विजयी सुरूवात

पर्यटन प्रवर्द्धनका खेलकुद महत्वपूर्ण : सञ्चारमन्त्री गुरुङ

पोखरा स्पोर्टस । पोखरामा शनिबारबाट केपि ओलि कप टि–२० राष्ट्रिय खुल्ला पुरुष क्रिकेट प्रतियोगिता सुरु भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा पहिलो दिन दुई खेल सम्पन्न भएका छन । प्रतियोगिताको पहिलो खेलमा स्याङ्जा र दोस्रो खेलमा काठमाडौं विजयी भएका छन् ।

पहिलो खेलमा स्याङ्जा क्रिकेट क्लबले पोखरा महानगर क्रिकेट क्लबलाई २३ रनले हराएको छ । १६२ रनको विजयी लक्ष्य दिएको पोखरा महानगरपालिकालाई १३८ रनमा रोक्दै स्याङ्जाले विजयी सुरुवात गरेको हो ।

पोखराले २० ओभरमा ८ विकेट गुमाउँदै १३८ रनमात्रै जोड्न सक्यो । ओपनर आशिष न्यौपाने ५ रनमै आउट भएको पोखराका लागि समित श्रेष्ठले ५३ रनको योगदान दिएपनि जितका लागि पर्याप्त रहेन । उनले ४७ बलमा ८ चौका प्रहार गरे । प्रमोद बास्तोला २७ रनमा आउट भए । उनले २० बलमा २ चौका र २ छक्का प्रहार गरे । अभिनव शाह ३, धिरज अधिकारी ९, विष्णु प्रसाद शर्मा २८, हरि शंकर १, अन्जन केसी ४ रनमा आउट भए । स्याङजाका लागि लक्ष्मण डुम्रेले ४ ओभरमा २८ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । यस्तै तुल्सिराम न्यौपानेले २ तथा मिलन लुइटेल र किरण भट्टराईले १/१ विकेट लिए ।

त्यस अघि टस जितेर ब्याटिङ रोजेको स्याङ्जाले २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनाएको थियो । स्याङजाका लागि अस्विन रानाले अविजित रहँदै सर्वाधिक ४६ जोडे । उनले ३० बलमा ५ चौका र २ छक्का प्रहार गरे । किरण भट्टराई २३ रनमा अविजित रहे । उनले १२ बलमा ३ चौका र १ छक्का प्रहार गरे । ओपनर करण पगेनी २० रनमा आउट भए । उनले १७ बलमा १ चौका र १ छक्का प्रहार गरे । इश्वर क्षेत्रीले १६ बलमा २ चौका र २ छक्काको मद्धतमा २४ रन बनाउँदै आउट भए । विशाल कोइराला शुन्य, सुजन गौतम १४, मिलन क्षेत्री ६, सन्दिम खत्री क्षेत्री २३ रनमा आउट भए । पोखराका लागि समिर भुजेल र अन्जन केसीले समान २/२ विकेट लिए भने सुभाष वास्तोला र मार्सल बरालले १/१ विकेट लिए ।

दोस्रो खेलमा काठमाडौंले हेटौडालाई ११ रनले हरायो । १५२ रनको विजयी लक्ष्य पाएको हेटौडा १८.५ ओभरमा १४० रनमै अलआउट  हुन पुग्यो । हेटौडाका लागि सुभ कंशाकरले ५४ रनको अर्धशतकीय इनिङ खेलेपनि जितका लागि पर्याप्त भएन । उनले २४ बलमा ९ चौका र २ छक्का प्रहार गरे । ओपनर गौरभ खड्का ८ रनमै आउट भए । सुमन सुनार ३८ रनमा आउट भए । उनले ३४ बलमा ३ चौका र १ छक्का प्रहार गरे । युविन बुढाथोकी १२, अकिलेश ठाकुर १, सक्षम वस्ताकोटी १३, रामनरेश गिरि ४, विशाल फुयाल १, अशिम श्रेष्ठ शुन्य र समिर चौलागाईँ १ रनमा आउट भए । काठमाडौका लागि सुर्य तामाङ र युशिन विक्रम सिंह ठकुरीले समान ३/३ विकेट लिए भने मनोज यादवले २ विकेट लिए ।

टस जितेर ब्याटिङ थालेको सिइसी काठमाडौंले २० ओभरमा ३ विकेट गुमाउँदै १५१ रन बनायो । काठमाडौंका लागि पृथु बास्कोटाले अविजित ५७ रनको अर्धशतकीय पारी खेले । उनले ३३ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । यस्तै शिवम तिवारी १८ रनमा नटआउट रहे । उनले ८ बलमा २ चौका र १ छकका प्रहार गरे । ओपनर सुशान्त सिंह थापा १५ रनमा आउट भए । रित गौतम २९ रनमा र सचिन लेखक २२ रनमा आउट भए । हेटौडाका लागि समिर चौलागाईँ, सांसद अलि मन्सुरी र रामनरेश गिरिले समान १/१ विकेट लिए ।

पर्यटन प्रवर्द्धनका खेलकुद महत्वपूर्ण : सञ्चारमन्त्री गुरुङ
 मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा ‘दोस्रो केपी ओली कप खुल्ला पुरूष राष्ट्रिय टि२० क्रिकेट प्रतियोगिता शनिबारबाट पोखरामा सुरू भएको छ ।

‘सबैका लागि खेलकुद’ भन्ने मुल नाराका साथ पोखरा रंगशाला क्रिकेट खेल मैदानमा सुरू भएको प्रतियोगिताको उद्घाटन संघिय सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका छन् ।

सो अवसरमा बोल्दै सञ्चार मन्त्री गुरूङले खेलकुदको माध्यमबाट गण्डकी प्रदेशलाई पर्यटनको प्रवर्द्धन गर्न सकिने बताए । उनले पर्यटकीय राजधानी पोखरालाई खेलकुदको पनि हब बनाउनुपर्ने उल्लेख गर्दै गण्डकी प्रदेशमा आफ्नो नेतृत्वमा रहेको सरकारले पूर्वाद्धारका लागि रकम बिनियोजन गरेको जनाउँदै पोखराको क्रिकेट खेल मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आवश्यक रहेको कुरामा जोड दिए ।

सरकारले पोखरा क्रिकेट खेल मैदानलाई स्तरवृद्धिको साथै पूर्वाधार निर्माणलाई प्राथमकितामा राखेको बताउँदै उनले अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेल पोखरामा आयाजना गर्न सक्ने गरी पूर्वाधार निर्माण गर्न सरकारले बजेट विनियोजन गर्ने उल्लेख गरे । उनले भने, “अहिले क्रिकेट हाम्रो प्राथमिकतामा छ । अन्तर्राष्ट्रियस्तरको न्यूट्रल भेन्यू पनि आवश्यक छ । त्यसका लागि उपयूक्त मैदान भनेकै पोखराको क्रिकेट मैदान हो । यसलाई अन्तर्राष्ट्रिय भेन्यूको रुपमा विकास गर्नुपर्छ ।”

एकेडेमीका केन्द्रिय अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद (राखेप)का उपाध्यक्ष ध्रव आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उनले यूवा एवं प्रतिभाशाली खेलाडीहरुको पहिचानका लागि यो प्रतियोगिता सार्थक हुने जनाउँदै देशव्यापी रुपमा एकेडेमीले राष्ट्रिय तथा स्थानियस्तरका प्रतियोगिताहरु सञ्चालनमा जोड दिएको बताए ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनमा सुरु भएको क्रिकेटमा १६ टिमको सहभागिता रहेको छ । बैशाख ५ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेताले नगद ५ लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै म्यान अफ दी सिरिजले नगद ३० हजार, बेष्ट बलर, बेष्ट ब्याटरले जनही नगद रु १० हजार र म्यान अफ दी म्याचले नगद ५ हजारका साथमा ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिता लिग कम नकाउटका आधारमा सञ्चालन गरिएको छ । पोखरामै भएको पहिलो संस्करणको उपाधि मधेश प्रदेशले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close